काठमाडौं । सेयर बजारमा जलविद्युत् (हाइड्रोपावर) कम्पनीहरूको वर्चश्व बढ्दै गएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत हुने हाइड्रोपावर कम्पनीको संख्या बढेसँगै बजार हिस्सा पनि बढेको हो ।
नेप्सेका अनुसार सूचीकृत १३ क्षेत्रका कम्पनीमध्ये बजार पूँजीकरणका आधारमा हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ । दुई वर्ष अघिसम्म बजार पूँजीकरणका आधारमा हाइड्रोपावर क्षेत्र चौथो स्थानमा रहेकोमा अहिले दोस्रोमा आएको हो ।
हाइड्रोपावरले पूँजीकरणका आधारमा लघुवित्त र बीमा (जीवन र निर्जीवन) क्षेत्रलाई पछि पारेको हो । हाइड्रोपावर कम्पनीको संख्या र सेयर मूल्य समेत बढेपछि बजार पूँजीकरण पनि बढेको हो ।
आव २०७९/८० को कात्तिकमा कुल बजार पूँजीकरणमा हाइड्रोको हिस्सा १०.३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १५.८ प्रतिशत पुगेको हो । यस अवधिमा हाइड्रोपावरको कुल बजार पूँजीकरण ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जबकि २ वर्ष अघि हाइड्रोपावरको बजार पूँजीकरण २ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै थियो । २ वर्षमै हाइड्रोपावरको पूाजीकरण झण्डै तेब्बर भएको हो ।
पछिल्लो ३ वर्षमा मात्रै नेप्सेमा ४० बढी हाइड्रोपावर कम्पनी सूचीकृत भएका छन् । आव २०७६/७७ सम्म नेप्सेमा हाइड्रोपावर कम्पनीको संख्या २५ रहेकोमा हाल ९१ पुगेको छ । । नेप्सेका अनुसार हाल ९१ हाइड्रोपावर कम्पनीको १ अर्ब ६५ करोड कित्ता सेयर सूचीकृत छ ।
आगामी दिनमा हाइड्रोपावरको हिस्सा झनै बढ्ने देखिन्छ । बैंकिङ, बीमा, लघुवित्त लगायत क्षेत्रमा नयाँ कम्पनी आउने सम्भावना छैन । तर, हाइड्रोपावर क्षेत्रमा भने नयाँ कम्पनीको बाढी आउने देखिन्छ । हाल ५० बढी हाइड्रोपावरले आइपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर बसेका छन् । आइपीओ जारीपछि ती कम्पनीहरू पनि नेप्सेमा सूचीकृत हुनेछन् ।
हाइड्रोपार कम्पनीहरूको सेयर मूल्यमा समेत निकै चलखेल हुने गरेको छ । वाणिज्य बैंक, विकास बैंक लगायत कम्पनीको तुलनामा हाइड्रोपावर कम्पनीहरूको सेयर संख्या कम हुने भएकाले स्वार्थ समूहहरूले सहजै चलखेल गर्ने गरेका छन् ।
तुलनात्मक रुपमा अन्य क्षेत्रका कम्पनीकोभन्दा हाइड्रोपावर कम्पनीको वित्तीय विवरण कमजोर र लाभांश क्षमता कम हुने गर्छ । तर, बजारमा हुने चलखेलबाट पैसा कमाइने देखेर लगानीकर्ताहरू हाइड्रोपावरको सेयरमा झुम्मिने गरेका छन् ।

चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सूचीकृत ९१ हाइड्रोपावरमध्ये ३ दर्जन कम्पनी नोक्सानीमा रहेका छन् । त्यस्तै, एकतिहाई हाइड्रोपावरले मात्र गत वर्षको नाफाबाट लाभांश दिएका छन् ।
कुन क्षेत्रका कम्पनीको कति छ बजार हिस्सा ?
नेप्सेमा विभन्न १३ क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । जसमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, होटल तथा पर्यटन, लगानी, व्यापार, अन्य र म्युचुअल फण्डहरू सूचीकृत छन् ।
जसमा सबैभन्दा धेरै हिस्सा वाणिज्य बैंकको रहेको छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकको कुल बजार पूँजीकरण ११ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । यो कुल बजार पूँजीकरणको २७ प्रतिशत हो । तुलनात्मक रुपमा कम्पनीको संख्या र सेयर मूल्य सस्तो भए पनि सेयर संख्या धेरै हुँदा वाणिज्य बैंकहरूको बजार पूँजीकरण धेरै भएको हो । यद्यपि, पछिल्लो ३ वर्षमै वाणिज्य बैंकको हिस्सा आधाले घटेको छ । वाणिज्य बैंकको संख्या मर्जरका कारण ३१ बाट २० वटामा झरिसकेका छन् । नेप्सेमा हाल वाणिज्य बैंकहरूको ३ अर्ब ६४ करोड रुपैयाँ सेयर सूचीकृत छ ।
त्यस्तै, बजार पूँजीकरणका आधारमा बीमा कम्पनीहरू तेस्रो स्थानमा रहेको छ । बीमा कम्पनीहरूको पूँजीकरण कुल बजार हिस्सामा १५.१ प्रतिशत रहेको छ । नेप्सेमा हाल २४ बीमा कम्पनी सूचीकृत छन् ।
त्यस्तै, संख्याको हिसाबमा दोस्रो धेरै रहेको लघुवित्त क्षेत्र पूँजीकरणका आधारमा चौथो स्थानमा छ । कुल बजार पूँजीकरणमा लघुवित्त क्षेत्रको हिस्सा ९ प्रतिशत रहेको छ । नेप्सेमा हाल ५० वटा लघुवित्त सूचीकृत छन् ।