प्रहरीद्वारा सवा २ अर्ब राजस्व सङ्कलन, ५२ करोड ट्राफिक जरिवाना

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट २ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख रुपैयाँ अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख रुपैयाँ र अवैध मुद्रा बरामद गरी ४ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए।

त्यसैगरी स्रोत नखुलेको २ करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट १ करोड ८३ लाख रुपैयाँ अवैध काठ बरामदबाट १ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए ।

१३ वर्षदेखि अधुरो कमला पुल निर्माण पुनः सुरू Read Previous

१३ वर्षदेखि अधुरो कमला पुल निर्माण पुनः सुरू

सेयर बजारमा हाइड्रोपावरको हिस्सा बढ्दै, दोस्रो स्थानमा पुग्यो Read Next

सेयर बजारमा हाइड्रोपावरको हिस्सा बढ्दै, दोस्रो स्थानमा पुग्यो