काठमाडौं । सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । प्रहरीले ४४ जना विरुद्ध मुद्दा दर्ता गर्न राय दिए पनि सरकारी वकिले भने ३९ जना विरुद्ध मात्र दर्ता गरेको हो ।
उनीहरूले स्वर्णलक्ष्मी सहकारीको १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेकाे छ ।
कार्यालयले लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह-सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता गरेकाे हाे ।
त्यसैगरी, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएको छ ।