काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका ६ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने आयोजनाले जनाएको छ ।
निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि हाल पाँचखाल–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीको ल्याइएको छ । ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ‘ओभरहेड ट्याङ्की’मा समेत पानी जम्मा गर्न थालिएको उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाका अनुसार ८४ लिटर प्रतिसेकेण्डको दर भए पनि यतिखेर हाल ४२ लिटर प्रतिसेकेण्डका दरले पानी ल्याइएको समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनका अनुसार उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइनेछ । उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाइदिएको हो । बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार आयोजनाका १ करोड ७० लाख रुपैयाँ क्षति पुगेको थियो । मुहानका मुख्यलगायत कलेक्सन ट्याङ्की तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ गरिएको र अन्य भौतिक क्षति मर्मत गरिएको छ । २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो ।
आयोजनाद्वारा माघको अन्त्यसम्ममा घरघरमा धारा पुर्याउनेगरी हाल तीव्रगतिमा काम भइरहेको लामिछानेले बताए । उनका अनुसार ५०० घरमा धारा जडान बाँकी छ । दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिए पनि विपद्का कारण तीन महिना समय थपेको लामिछानेले बताए । यस्तै नगर विकास कोषले पनि सोही समयावधिसम्ममा काम सक्न भनेको जनाइएको छ ।
हाल योजनाको कार्य अन्तिम चरणमा प्रतिघण्टा ३ लाख २ हजार ४०० लिटर पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।
यस्तै आयोजनाअन्र्तगत सुनकोशी नदी किनारमा छवटा इनार, चार–चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, १० नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ । पाँचवटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।
कुल ६ हजार ३७ धारामध्ये हालसम्म तीन हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । उनका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलाबाट पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।
सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते अढाई वर्ष अर्थात् २०७९ माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्याएका कारण लम्बिएको हो । यी कारणले पहिलोपटक १० र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । १ अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरपरिवारका हाललाई ३१ हजार ४१५ नागरिक लाभान्वित हनेछन् । यसमध्ये दैनिक प्रतिव्यक्ति १९२.०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ ।
आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, सरकारको बजेटसँगै कुल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख ५ हजार ३०० रुपैयाँ परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाएका छन् । यस्तै आयोजनाका लागि सम्झौताअनुसार २१४ उपभोक्ताले सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए । रासस