एमसीसीले नेपाललाई थप ७ अर्ब रुपैयाँ दिने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई थप करिब ७ अर्ब रुपैयाँ सहायता प्रदान गर्ने भएको छ ।

एमसीसी सञ्चालक समितिको बैठकले नेपालमा एमसीसी अन्तर्गतका आयोजनाका निम्ति ६ अर्ब ८० करोड रुपैयाँ (५ करोड डलर) अतिरिक्त सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।

अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनमा आएका छन् । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल-भारतबीच ३ हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।

यस योजना अन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र ४०० केभी क्षमताको ३ वटा सबस्टेशन निर्माण हुनेछ । सडक अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने छ ।

प्रसारण लाइन अन्तर्गत १८ किमीको ठेक्का लागिसकेको छ भने २९७ किमीको लागि अहिले ग्लोबल टेन्डर आह्वान भई प्रक्रियामा छ । सबस्टेशनतर्फ तीन वटैको ठेक्का लागिसकेको छ । तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का पाएको छ ।

त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । यसको लागत ५ करोड १६ लाख अमेरिकी डलर छ । त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लिङ्कसन इण्डिया प्रालिले पाएको छ ।

एमसीसी ५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको परियोजना हो । यो कार्यान्वयनमा आएको डेढ वर्ष भइसकेको छ ।

महुली लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

महुली लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

कुमारी बैंकका सेयरधनीको पनि हात खाली, लाभांश नदिने Read Next

कुमारी बैंकका सेयरधनीको पनि हात खाली, लाभांश नदिने