काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६८/६९ देखि बैंक तथा वित्तीय संस्थाहरूको संख्या व्यापक रूपले घटाउने नीति लियो । सोही अनुरुप राष्ट्र बैंकले एकैपटक बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणाले बढायो । जसमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी २ अर्बबाट चार गुणा बढाएर ८ अर्ब पुर्यायो ।
राष्ट्र बैंकको पूँजी वृद्धि नीतिबाट विकास बैंक र फाइनान्सको संख्या उल्लेख्य रुपमा घटे पनि वाणिज्य बैंकको संख्या खासै घट्न सकेन । त्यसपछि राष्ट्र बैंकले आव २०७८/७९ मा वाणिज्य बैंकहरूको संख्या घटाउन बिग मर्जर नीति लियो ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई शाखा विस्तार, कर्जा लगानी लगायत नियामकीय सुविधाहरूमा छुट दिएपछि बैंकिङ क्षेत्रमा बिग मर्जरको लहर नै चल्यो । सोही कारण २०७९/८० मा मात्रै आधादर्जन वाणिज्य बैंक बिग मर्जरमा गए । प्रोत्साहन नीतिपछि मात्रै वाणिज्य बैंकहरूको संख्या २७ बाट घटेर २० वटामा झरयो । पछिल्लो १२ वर्षमा भने वाणिज्य बैंकको संख्या ३२ बाट २० वटामा झरेको छ ।
राष्ट्र बैंकले बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरू गरेयता २६० बढी बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएका छन् । तीमध्ये १८५ बढी संस्थाहको इजाजत खारेज भइसकेको छ ।
राष्ट्र बैंक अहिले आफ्नो लक्ष्य अनुसार बैंक तथा फाइनान्स कम्पनीको संख्या घटाउन सफल भएको छ । तर, अझै पनि मर्जर नीति कायमै राखेको छ । राष्ट्र बैंकले अहिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको मर्जर प्राथमिकतामा नराखे पनि लघुवित्तहरूलाई मर्जरमा जान प्रोत्साहन गरिराखेको छ । यद्यपि, अझै पनि केही वाणिज्य बैंकहरू मर्जरमा जाउन भन्ने उसको इच्छा देखिन्छ ।
अझै पनि वाणिज्य बैंकहरूको संख्या बढी नै रहेको चर्चा हुने गरेको छ । राष्ट्र बैंकले २०२२ मा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या (अप्टिमल नम्बर अफ बैङ्कस एन्ड फाइनान्सियल इन्स्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालमा ११ देखि १५ वटासम्म वाणिज्य बैंक भए पुग्ने निष्कर्ष निकालेको थियो ।
अहिले पनि केही वाणिज्य बैंकहरू भने मर्जरमा जाने बाटो खुल्लै राखेका छन् । यसअघि बिग मर्जरमा सहभागी भएका/नभएका वाणिज्य बैंकहरू अझै पनि उपयुक्त पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् भने केही गराउने क्रममा छन् ।
यी ४ बैंक अझै चाहन्छन् मर्जर
अझै पनि ४ वाणिज्य बैंकले उपयुक्त जोडी भेटेमा मर्जरमा जान इच्छुक देखिएका छ । नबिल, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्शियल र विदेशी विदेशी स्वामित्को नेपाल एसबीआइ बैंकले मर्जरमा जाने बाटो खुला राखेका हुन् ।
नबिल, प्राइम र सिटिजन्सले मर्जर तथा एक्विजिसनको एजेन्डा साधरणबाट पारित गराइसकेको छन् । यी बैंकले सभाबाट मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिएका छन् ।
नबिलले यसअघि पनि बिग मर्गर गरिसकेको छ । नबिलले तत्कालीन नेपाल बंगलादेश बैंक आफूमा गाभेको थियो । सिटिजन्स र प्राइमले भने हालसम्म बिग मर्जर गरेका छैनन् । दुवै बैंकले आफूभन्दा साना फाइनान्स र विकास बैंकलाई गाभेर तोकिएको चुक्ता पूँजी पुर्याएका थिए ।
त्यस्तै, नेपाल एसबीआइ बैंकले पनि मर्जरको बाटो खुला राखेको छ । एसबीआइले आगामी पुस २१ गते हुने वार्षिक साधरण सभामा मर्जरको एजेन्डा लैजाने भएको छ । एसबीआइले हालसम्म कुनै पनि संस्था प्राप्ति तथा मर्जर गरेको छैन । यस बैंकले एफपीओ जारी गरेर तोकिएको चुक्ता पूँजी पुर्याएको थियो ।
तुलनात्मक रुपमा एसबीआइ अहिले थोरै पूँजी हुने बैंकमा पर्दछ । केही बैंकको चुक्ता पूँजी एसबीआइको तेब्बरसम्म छ । यस्तो अवस्थामा अन्य बैंकहरूसँग प्रतिस्पर्धा गर्न पनि आफ्नो पूँजी बढाउनुपर्ने बैंकले महशुस गरेको देखिन्छ । त्यसैले मर्जरको बाटो खुलै राखेको हो ।