रसुवागढी हाइड्रोपावरद्वारा व्यापारिक उत्पादन सुरू, वार्षिक सवा ३ अर्बको बिजुली बेच्ने

काठमाडौं । रसुवामा निमार्ण भएको १११ मेगावाटको रसुवागढी हाइड्रोपावरले व्यावसायिक उत्पादन सुरु गरेको छ । कम्पनी र नेपाल विद्युत् प्राधिकरण बीच भएकाे विद्युत् खरिद सम्झौता अनुसार पुस १६ गतेदेखि लागू हुने गरी आयोजनाले व्यापारिक उत्पादन थालेको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा ३७/३७ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान गरिएको छ। हाल नदीमा पानीको वहाव घटेकोले क्षमताको आधाभन्दा कम मात्रै बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । वर्षायाममा भने क्षमता अनुसार विद्युत् उत्पादन हुनेछ ।

सो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयँको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर ३ अर्ब २५ करोड रुपैयाँ आय गर्ने आयोजनाले गर्ने छ ।

रसुवागढी मुनि भोटेकोशीमा बाँध बानेर ४ हजार १८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको सेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।

१ दर्जन निर्माण कम्पनी कालोसूचीमा Read Previous

१ दर्जन निर्माण कम्पनी कालोसूचीमा

खाद्य व्यवस्था कम्पनीले किन्यो साढे ३१ हजार क्विन्टल धान Read Next

खाद्य व्यवस्था कम्पनीले किन्यो साढे ३१ हजार क्विन्टल धान