नेपालमा झण्डै डेढ लाख होटल तथा रेस्टुराँ, १ खर्ब बढी ‘भ्यालु एड’

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार २२३ छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार १२३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार ८८७, मदेशमा ११ हजार ७४०, गण्डकीमा १६ हजार ९७६, लुम्बिनीमा २० हजार १५८ र सुदूरपश्चिममा ८ हजार २२८ छ ।

अध्ययन प्रतिवेदन अनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या ३ लाख ८७ हजार ७४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो ।

यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या १ लाख ६ हजार ४५९ छ । होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब ३ खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ ।

अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

यस्ता प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैर तारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो ।

होटलमा रहेको कोठाको सङ्ख्या १ लाख १६ हजार १०० रहेको छ । जसमध्ये स्टार होटलमा ८ हजार ४९६ कोठा, गैर तारे होटल तथा लजमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८२९ र होमस्टेमा ३ हजार ७०० कोठा रहेको यो अध्ययनले देखाएको छ ।

हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार ८५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ ।

सेयर बजारमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

सेयर बजारमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

प्रभु बैंकले संचालनमा ल्यायो ‘प्रभु डिजिटल क्युब’ Read Next

प्रभु बैंकले संचालनमा ल्यायो ‘प्रभु डिजिटल क्युब’