बीमा पोलिसी सरेन्डर अत्यास लाग्दो, एउटै कम्पनीको २ अर्बको, कुनको कति ?

काठमाडौं । बीमा पोलिसी सरेन्डर (बीमालेख समर्पण) अत्यास लाग्दो रुपमा बढेको छ । आर्थिक शिथिलता कायमै रहँदा बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् ।

पोलिसी सरेन्डर घटाउन नियामक निकाय र बीमा कम्पनीहरूले प्रयास गरे पनि रोकिन सकेको छैनन् । नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी पनि धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिना (साउन-मंसिर)मा ६ अर्ब रुपैयाँ बढीको बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । यस अवधिमा १४ जीवन बीमा कम्पनीका ४५ हजार ६० वटा पोलिसी सरेन्डर भएका हुन् ।

चालु आवको मंसिरसम्म भएको पोलिसी सरेन्डर जीवन बीमा कम्पनीले सोही अवधिमा गरेको नयाँ व्यवसायको आधा रकम बराबर हो । मंसिरसम्म जीवन बीमा कम्पनीले नयाँ पोलिसी जारी गरी १२ अर्ब ६८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । जबकि, यही अवधिमा ६ अर्ब १० करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।

अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।

आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रुपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।

नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।

बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।

कुनको कति पोलिसी सरेन्डर ?

चालु वर्षको ५ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई लागेको छ । यस अवधिमा एलआइसीका ११ हजार ७९३ बीमितले पोलिसी सेन्डर गरेका छन् । उनीहरूले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३१.६५ प्रतिशत हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि १ अर्ब ६८ करोड रुपैयाँको १० हजार ३७१ पोलिसी सरेन्डर भएको छ । यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको ५ हजार ४१० वटा, नेशनल लाइफको ३७ करोड ११ लाख रुपैयाँको २ हजार ५४१, मेट लाइफको १७ करोड २३ लाख रुपैयाँ बराबरको १ हजार ५१६, एशियन लाइफको ४० करोड १४ लाख रुपैयाँ बराबरको ३ हजार ७५२ वटा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, आइएमई लाइफको ८ करोड ८३ लाख रुपैयाँको ७६३ वटा, सन नेपाल लाइफको २ करोड ९४ लाखको २९५ वटा, सिटिजन लाइफको ८ करोडको १ हजार १०८, सूर्यज्योति लाइफको ३२ करोड ६४ लाखको २ हजार ४८८ वटा, सानिमा लाइफको १० करोड ९५ लाखको ७८७ वटा, हिमालयन लाइफको २८ करोड ३० लाखको ३ हजार ३३ वटा र प्रभु महालक्ष्मी लाइफको ७ करोड ८० लाख रुपैयाँ बराबरको ५४९ वटा पोलिसी सरेन्डर गरेका छन् ।

बलेफी हाइड्रोपावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन Read Previous

बलेफी हाइड्रोपावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने Read Next

ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने