सेयर बजारमा पैसा कमाउने दुईवटा तरिका हुन्छन् । पहिलो, आफुले लगानी गरेको कम्पनीको लाभांश प्राप्त गरेर । कम सेयर मुल्यमा राम्रो प्रगति गर्दै गएको कम्पनीमा लगानी गरेको छ भने यो तरिकाबाट राम्रो आम्दानी हुन्छ, लगानीकर्ताहरुलाई । दोस्रो, सेयर बजार बढेर । यस्तो अवस्थामा लगानी गरेको कम्पनीले लाभांश आकर्षक नदिए पनि कम्पनीको सेयर मुल्यमा बढोत्तरी भएको छ भने आकर्षक नाफा कमाउन सकिने भयो ।
समग्रमा भन्दा सेयर बजारमा लगानी गरेर कमाउने भनेको कम्पनीको लाभांशबाट वा बढेको सेयर मुल्यबाट हो ।
लाभांश पनि आकर्षक छ र मुल्य पनि बढेको छ भने त झन् सुनमा सुगन्ध भइहाल्यो । त्यस्तै, सेयर मुल्य पनि घटेको छ र कम्पनीले लाभांश पनि दिएको छैन भने त झन् आपत नै परिहाल्यो ।
नेपाली सेयर बजार सुस्ताएको निकै भयो । अहिले पनि बजारले खासै गति लिन सकेको छैन । ‘बजारमा कुनै मुभमेन्ट नै छैन । अहिले बजार तलमाथी भन्दा पनि दायाँबाँया नै हल्लिरहेको अवस्था हो’, एक लगानीकर्ता भन्छन् ।
यस्तो अवस्थामा सेयर मुल्य बढेर कमाउने अवस्था खासै हुँदैन । अर्थात, लगानीमा पूँजीगत लाभ हुने संभावना न्युन हुन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो लगानीलाई सुरक्षित राख्ने र थोरै तिनो आम्दानी गर्ने भनेकै कम्पनीको लाभांशबाट हो ।

कम मुल्यमा सेयर किनेको छ र कम्पनीले राम्रो लाभांश दिएको छ भने लगानीकर्ताले खासै गुमाउँदैन ।
उदाहरणको लागि एनएमबी बैंंकलाई लिउँ । बुक क्लोज अघिसम्म एनएमबी बैंकको सेयर मुल्य प्रति कित्ता ४ सय २ रुपैयाँ थियो । बैंकले गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गर्यो । यो भनेको कसैले प्रति कित्ता ४ सय २ रुपैयाँमा सेयर किनेको छ भने उसले कम्पनीको लाभांशबाट कुल ८.७१ प्रतिशत आम्दानी गर्यो । यसको मतलब बैंकको मुद्दती खातामा राखेको भए ९ प्रतिशत हाराहारी आम्दानी हुन्थ्यो भने एनएमबीको सेयरमा लगानी गर्दा ८.७१ प्रतिशत आम्दानी भयो । खासै घाटा भएन लगानीकर्तालाई ।
कुल लाभांशलाई बुक क्लोज अघिको मुल्यले भाग गर्दा आएको अंकलाई प्रतिशतमा व्यक्त गरेर आउने अंकनै कम्पनीबाट आउने वास्तविक आम्दानी हो । यसलाई ‘डिभिडेन्ड यिल्ड’ भन्दछन् ।
यसैका आधारमा यहाँ गत वर्षको लगानीमा सबैभन्दा नाफामुलक (कम्पनीको लाभांशको आधारमा) भयो भनेर यहाँ सूचि प्रस्तुत गरिएको छ ।
डिभिडेन्ड यिल्डका आधारमा गत वर्षका आम्दानीबाट सबैभन्दा राम्रो आम्दानी एनएमबी बैंकका लगानीकर्ताले गरेका छन् । यसैगरी दोस्रो राम्रो आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंकका लगानीकर्ता रहेका छन् । ग्लोबलको डिभिडेन्ड यिल्ड ८.६४ प्रतिशत रहेको छ ।
डिभिडेन्ड यिल्डका आधारमा सबैभन्दा महङ्गो र कम आम्दानी भएको बैंक स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । उक्त बैंकमा लगानी गर्नेले ४.०५ प्रतिशतमात्र कुल आम्दानी गरेका छन् ।