धमाधम केबलकार निर्माण गर्दै आइएमई ग्रुप, सुदूरपश्चिममा पनि सुरू

काठमाडौं । आइएमई ग्रुपले देशभर केबलकार निर्माणलाई तीव्रता दिएको छ । हाल देशका तीन स्थानमा केबलकार संचालनमा ल्याइसकेको आइएमई ग्रुपले सुदूरपश्चिम प्रदेशमा पनि केबलकार निर्माण सुरु गरेको हो ।

आइएमई समूहले सुदूरपश्चिमको कैलालीको चिसापानीमा केबलकार निर्माण सुरु गरेको हो । चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरेकी हुन् ।

आइएमई ग्रुपले देशका सातवटै प्रदेशमा होटेल र केबलकारसहितको पर्यटकीय प्रडक्ट ‘हिल्स स्टेसन’ बनाउने योजना अनुरुप सुदूरपश्चिममा पनि केबलकार निर्माण अघि बढाएको हो ।

लम्कीचुहा नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं. ७ राजकाँडासम्म पुग्ने उक्त केबलकार ३.१ किलोमिटर लामो हुनेछ । उक्त केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

कुल ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् । त्यस्तै, टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा मुलुकको कायापलट गर्न सम्भव रहेको बताए ।

उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याई पर्यटकको बसाइ लम्ब्याएर थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’

आइएमई ग्रुपले हाल देशका तीन प्रदेशमा केबलकार संचालनमा ल्याइसकेको छ । आइएमईले बागमती प्रदेशको काठमाडौंको चन्द्रागिरिमा २०७३ सालदेखि आफ्नो पहिलो केबलकार संचालनमा ल्याएको थियो ।

त्यस्तै, गत वर्षदेखि गण्डकी प्रदेशको नवलपुरमा मौलाकालिका केबलकार र लुम्बिनी प्रदेशको बुटवलमा लुम्बिनी केबलकार सञ्चालनमा ल्याइएको थियो ।

आइएमई समूहले कोशी प्रदेशमा पनि केबलकार निर्माण थालिसकेको छ । गत कात्तिक २३ गते पाथीभर केबलकारको शिलान्यास गरिएको थियो । ताप्लेजुङको काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने उक्त केबलकार साढे २ किलोमिटर लामो हुनेछ । यसको निर्माण लागत ४ अर्ब बढी रहेको छ । केबलकारका लागि १३ वटा टावर निर्माण हुनेछ भने ४५ वटा गोन्डोला रहने छन् ।

त्यस्तै, आइएमईले गण्डकी प्रदेशकै कास्कीको सिकलेसमा ८ अर्ब लगानी गरेर लक्जरी रिसोर्टसहितको अर्को केबलकार निर्माण गर्ने योजना बनाएको छ । ६ किलोमिटरभन्दा लामो सिकलेस केबलकारमा बटमदेखि टपसम्म तीनवटा स्टेसन रहनेछन् ।

त्यस्तै, मधेस र कर्णाली प्रदेशमा पनि केबलकार निर्माणका लागि ठाउँ हेरिरहेको आइएमई ग्रुपले जनाएको छ ।

दक्षिण कोरियामा १८१ यात्रु सवार जहाज विमानस्थलभित्रै दुर्घटना Read Previous

दक्षिण कोरियामा १८१ यात्रु सवार जहाज विमानस्थलभित्रै दुर्घटना

वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति Read Next

वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति