निर्जीवन बीमा कम्पनीले ५ महिनामा बेचे पौने १३ लाख पोलिसी, कुनले कति ?

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको मंसिरको तुलनामा चालु आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ११.२४ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म १८ निर्जीवन बीमा कम्पनी (१४ निर्जीवन र ४ निर्जीवन लघु बीमा)ले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ७७ करोड रुपैयाँ धेरै हो । गत वर्ष मंसिरमा निर्जीवन बीमा कम्पनीले कुल १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको मंसिरसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले ३३ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु आवको मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १२ लाख ७० हजार ६५७ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको मंसिरकोभन्दा ९८ हजार २१० वटा धेरै हो । गत वर्ष मंसिरसम्म ११ लाख ७२ हजार ४४७ वटा पोलिसी बिक्री गरेका थिए ।

पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत वर्ष माघसम्म घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा फागुनदेखि क्रमशः सुधार हुँदै आएको छ ।

मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा सुधार आउँदा समग्र बीमा व्यवसायमा सुधार आएको हो । त्यस्तै, सम्पत्ति बीमा गर्ने बढ्दा पनि व्यवसायमा सुधार देखिएको हो ।

यद्यपि, यस वर्ष बीमा कम्पनीहरूले व्यवसाय बढाए पनि दायित्व पनि ह्वात्तै बढेको लछ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण सवा १२ अर्ब ३६ करोड रुपैयाँ बढीको दाबी परेको छ । यो बीमा कम्पनीहरूको ३ महिनाको व्यवसाय बराबर हो ।

व्यवसायमा सगरमाथा अगाडि

निर्जीवन बीमा कम्पनी मध्ये व्यवसाय लिड गर्न मुख्य ३ कम्पनीहरू बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । शिखर, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर बीच कडा टक्कर देखिएको हो ।

निर्जीवन बीमा व्यवसायमा आफ्नो वर्चश्व राख्दै आएको शिखरलाई यसपटक सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले उछिनेको छ । मंसिरसम्म सलिकोले सबैभन्दा धेरै २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियरले पनि व्यवसायमा शिखरलाई उछिनेको छ । १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क उठाउँदै सिद्धार्थ प्रिमियर दोस्रो धेरै व्यवसाय गर्ने कम्पनी बनेको छ ।

विगतमा व्यवसायमा पहिलो स्थानमा रहँदै आएको शिखर मंसिरमा तेस्रो स्थानमा पुगेको छ । शिखरले १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

मंसिरसम्म आइजीआइ प्रुडेन्सियल १ अर्ब ४५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड, नेको १ अर्ब ४० करोड, १ अर्ब १३ करोड, ओरेन्टल १ अर्ब १२ करोड, युनाटेड अजोड १ अर्ब २ करोड, एनएलजी १ अर्ब १३ करोड, सानिमा जीआइसी साढे ९९ करोड, प्रभु साढे ७६ करोड, राष्ट्रिय बीमा कम्पनी ६७ करोड र नेपाल इन्स्योरेन्सले साढे ९४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको छ ।

मंसिरसम्म नेशनलले सबैभन्दा कम ५४ करोड ३४ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

व्यवसाय बढाउँदै लघुबीमा कम्पनी

लघुबीमा कम्पनीहरूले पनि आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । गत असारसम्म कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा १ प्रतिशतभन्दा कम रहँदै आएकोमा चालु आवको मंसिर आइपुग्दा झण्डै २ प्रतिशत पुर्याएका छन् ।

४ निर्जीवन लघुबीमा कम्पनीले मंसिरसम्म २६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको १.९३ प्रतिशत हो ।

अघिल्लो वर्षदेखि संचालनमा आएका लघुबीमा कम्पनीहरूले क्रमशः आफ्नो व्यवसाय बढाउँदै लगेका हुन् । मंसिरसम्म नेपाल माइक्रो इन्स्योरेन्सले १० करोड १२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ करोड ३१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ७ करोड ७२ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ७ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड' Read Previous

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'

पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले तोड्यो भ्रम, नियमित उडानको पहल Read Next

पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले तोड्यो भ्रम, नियमित उडानको पहल