५ महिनामा पूँजीगत खर्चभन्दा ऋण तिर्न चार गुणा धेरै खर्च

काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिना (साउन-मंसिरमा) सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि मात्रै १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ ।

मंसिर मसान्तसम्म साँवा भुक्तानीका लागि १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । मंसिर महिनामा मात्रै सरकारले ६२ अर्ब ४५ करोड रुपैयाँ साँवा ब्याज तिरेको छ ।

सरकारले ५ महिनमा ऋणको साावा ब्याज तिर्न खर्च गरेको रकम सोही अवधिमा भएको पूँजीगत खर्चको तुलनामा चार गुणा धेरै हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म सरकारको ४० अर्ब ८० करोड रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ ।

सरकारले चालु आवमा सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि पूँजीगत बजेटभन्दा धेरै रकम छुट्याएको छ । सरकारले चालु आर्थिक वर्षका सार्वजनिक ऋण तिर्न लागि ४ खर्ब २ अर्ब बजेट छुट्याइएको छ । जबकि, पूँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल गार्हस्थ उत्पादनको आधारमा मङ्सिर मसान्तसम्मको कुल ऋण सेवा खर्च २.९९ प्रतिशत रहेको छ ।

२५ खर्ब पुग्यो सार्वजनिक ऋण

चालु आवको मंसिर मसान्तसम्म देशको कुल सार्वजनिक ऋण झण्डै २५ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिरसम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । जुन कूल गार्हस्थ उत्पादनको ४३.६९ प्रतिशत हो ।

गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । चालु आवको ५ महिनामा मात्रै ५८ अर्ब ३१ करोड रुपैयाँ थपिएर २४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो ।

कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख अर्थात् कूल सार्वजनिक ऋणको २१.३४ प्रतिशत छ । त्यसैगरी बाह्य ऋण दायित्व १२ खर्ब ७४ अर्ब ७५ करोड अर्थात् २२.३५ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा १ खर्ब ९२ अर्ब २९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा ५ महिनाको कूल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको ४९.७० प्रतिशत अर्थात् १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर ऋण उठाइसकेको छ ।

यसैगरी २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १३.०४ प्रतिशत अर्थात् रू २८ अर्ब २९ करोड १८ लाख रुपैयाँ प्राप्त भएको छ ।

 

वीरगञ्ज भन्सारले ५ महिनामा उठायो साढे ६४ अर्ब राजस्व Read Previous

वीरगञ्ज भन्सारले ५ महिनामा उठायो साढे ६४ अर्ब राजस्व

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द Read Next

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द