पेट्रोलको खपत साढे ८ प्रतिशतले बढ्यो, डिजेलको भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खपत बढेको हो । यद्यपि, डिजेलको खपत भने घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ५ महिना (साउन–मंसिर)सम्म डिजेल बाहेक अरु सबै इन्धनको आयात बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोल, खाना पकाउने एलपी ग्यास, हवाई इन्धनको खपत औसतमा ६.८७ प्रतिशतले बढेको छ ।

चालु वर्षमा हवाई इन्धनको खपत सबैभन्दा धेरै १४.६४ प्रतिशतले बढेको छ । मंसिरसम्म ८९ हजार ५४५ किलोलिटर डिजेल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११ हजार ४३२ किलोलिटर धेरै हो । गत वर्ष मंसिरसम्म ७८ हजार ११२ किलोलिटर डिजेल आयात भएको थियो । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा एयरलाइन्स कम्पनीहरू फूलफेजमा संचालन हुँदा हवाई इन्धनको खपत बढेको हो ।

त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत ८.६ प्रतिशतले बढेको छ । मंसिरसम्म ३ लाख ६ हजार २२९ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्षको तुलनामा चालु आवमा पेट्रोल खपत २४ हजार २५८ किलोलिटर बढेको छ । गत वर्ष सोही अवधिमा २ लाख ८१ हजार ९७० किलोलिटर आयात भएको थियो ।

चालु वर्षमा खाना पकाउने एलपी ग्यासको आयात १.६३ प्रतिशतले बढेको छ । गत वर्ष मंसिरसम्म २१ करोड ४२ लाख ९१ हजार किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा २१ करोड ७७ लाख ७४ हजार किलो आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा ३४ लाख ८३ हजार किलो धेरै ग्यास आयात भएको छ ।

चालु आवमा मट्टीतेलको खपत पनि ७.३६ प्रतिशतले बढेको छ । गत वर्ष मंसिरसम्म ४ हजार १३२ किलोलिटर मट्टीतेल खपत भएकोमा चालु आवको सोही अवधिमा ३०४ किलोलिटर घटेर ४ हजार ४३६ किलोलिटर पुगेको छ ।

चालु आवमा डिजेल खपत भने ३.५ प्रतिशतले घटेको छ । चालु आवको ५ महिनामा ४ लाख ७२ हजार ८०७ किलोलिटर डिजेल खपत भएको छ । गत वर्ष ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजेल आयात भएको थियो । गत वर्षको तुलनामा डिजेल आयात १७ हजार १२९ किलोलिटरले घटेको हो ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो । त्यस्तै, पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो । सन् २०२४ को ११ महिनामा १० लाख बढी पर्यटक नेपाल आएका छन् ।

यद्यपि, अपेक्षित रुपमा निर्माण गतिविधि बढ्न नसक्दा डिजेलको खपत भने घटेको छ । सिमेन्ट, डण्डी लगायत उद्योगहरू पूर्ण रुपमा संचालन हुन नसक्दा डिजेलको खपत घटेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग नबढ्दा पनि डिजेल खपत घटेको हो ।

विदेशिने रकम भने घट्यो

चालु वर्षको पेट्रोलियम पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने ९.६४ प्रतिशतले घटेको छ । गत वर्ष ५ महिनामा इन्धन खरिदका लागि कुल १ खर्ब १२ अर्ब २३ करोड रुपैयाँ विदेशिएको थियो भने चालु आवको सोही अवधिमा १ खर्ब १ अर्ब ४० करोड बाहिरिएको छ ।

चालु वर्षमा इन्धन खरिदका लागि गत वर्षकोभन्दा १० अर्ब ८२ करोड रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो । गत वर्षको तुलनामा चालु वर्षमा विश्व बजारमा कच्चा तेलको भाउ सस्तिँदा विदेशिने रकम घटेको हो ।

आयात बढ्दा राजस्व पनि बढ्यो

पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकोले सरकारले पाउने राजस्व पनि बढेको हो ।

गत वर्षको तुलनामा चालु वर्षको ५ महिनामा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत ५० करोड ७२ लाख रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष मंसिरसम्म इन्धन आयातबापत सरकारले ४१ अर्ब ५४ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु वर्षको सोही अवधिमा ४२ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै १८ अर्ब ७९ करोड, पेट्रोलबाट १७ अर्ब ३४ करोड, हवाई इन्धनबाट १ अर्ब २७ करोड र खाना पकाउने एलपी ग्यासबाट ४ अर्ब ५१ करोड राजस्व असुली गरेको छ ।

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो Read Previous

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो

बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्दै राष्ट्र बैंक