काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग क्रमशः बढ्न थालेको छ । पछिल्लो समय आर्थिक गतिविधमा केही सधार आएसँगै बजारमा वस्तुको पनि माग बढ्न थालेको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पाँचौं महिना (साउन–मंसिर)को वैदेशिक व्यापार तथ्यांकले बजारमा उपभोग्य वस्तुको माग बढेको देखाएको हो ।
चालु आर्थिक वर्षको सुरुदेखि नै आयात खस्किँदो क्रममा थियो तर, मंसिर महिनमा भने ह्वात्तै बढेको देखिएको हो । भन्सार विभागका अनुसार मंसिर महिनामा १ खर्ब ४८ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको हो । यो गत असार यताकै धेरै हो । असारमा एक महिनामै डेढ खर्बको वस्तु आयात भएको थियो । त्यसयता लगातार घटेर कात्तिकमा १ खर्ब २३ अर्ब रुपैयँँमा सीमित भएको थियो ।
कात्तिकको तुलनामा मंसिरमा आयात २५ अर्ब रुपैयाँले बढेको हो । विभागका अनुसार चालु आवको ५ महिनामा कुल ६ खर्ब ६१ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३ प्रतिशतले धेरै हो । गत वर्ष ५ महिनामा कुल ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो ।
पछिल्लो समय आर्थिक गतिविधि बढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न गई आयात पनि बढेको हो । हिउँद लागेसँगै निर्माण गतिविधि बढेका छन् । जसकारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको आयात बढ्दा समग्रमा आयात पनि बढेको हो । अहिले डण्डी, सिमेन्ट लगायत उद्योगहरुले कच्चा पद्धार्थको आयात बढाएको देखिन्छ ।
निर्यात साढे १६ प्रतिशतले बढ्यो
चालु आवमा निर्यात ह्वात्तै बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष निर्यात १६.५४ प्रतिशत बढेको हो ।
मंसिरसम्म नेपालबाट ७३ अर्ब ६५ करोड रुपैयाँको वस्तु विदेशिएको छ । गत वर्ष यही अवधिमा ६३ अर्ब २० करोडको वस्तु निर्यात भएको थियो ।
मंसिरमा मात्रै २१ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात भएको छ । कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । चालु आवको पहिलो तीन महिना घट्दो क्रममा रहेको निर्यात कात्तिकदेखि भने लगातार बढ्न थालेको हो । कात्तिकमा मात्रै १४ अर्ब ३० करोड रुपैयाँको वस्तु विदेशिएको हो ।
व्यापार घाटा पनि बढ्यो
आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । चालु आवको मंसिरसम्म गत वर्षको तुलनामा व्यापार घाटा १.५२ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा व्यापार घाटा ८ अर्ब ८२ करोडले बढेर ५ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा ५ खर्ब ७९ करोड रुपैयाँ थियो ।
मंसिरसम्म कुल ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो ।