बागमती प्रदेशमा धान उत्पादन घट्यो, कुन जिल्लामा कति फल्यो ?

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान १.३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल १लाख ५ हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका दरले ४ लाख ४ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

अघिल्लो आव २०८०र८१ मा १ लाख ९ हजार १५१ हेक्टरमा धानबाली लगाइएकामा ४ लाख १३ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो । कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढे पनि अन्य जिल्लामा घटेको हो ।

बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार ७०० हेक्टरमा प्रतिहेक्टर ४.१५ मेट्रिक टनका दरले ९८ हजार ३५५ मेट्रिक टन धान उत्पादन भएको छ । नुवाकोटमा ११ हजार ६१५ हेक्टरमा प्रतिहेक्टर ४.१७ प्रतिशतका दरले ४८ हजार ३९० मेट्रिक टन, धादिङमा ११ हजार ३१२ हेक्टरमा प्रतिहेक्टर ३.८९ प्रतिशतका दरले ४४ हजार ४ मेट्रिक टन उत्पादन भएको छ ।

काठमाडौँमा यस वर्ष ४ हजार ९२४ हेक्टरमा प्रतिहेक्टर ४.७१ प्रतिशतका दरले २३ हजार १९२ मेट्रिक टन, ललितपुरमा ४ हजार १७८ हेक्टरमा प्रतिहेक्टर ४.५३ प्रतिशतका दरले १८ हजार ९२६ मेट्रिक टन र भक्तपुरमा ३ हजार ५९९ हेक्टरमा प्रतिहेक्टर ५.५१ प्रतिशतका दरले १९ हजार ८२३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ । मकवानपुरमा ७ हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ प्रतिशतका दरले २७ हजार ३६६ मेट्रिक टन, काभ्रेमा ८ हजार १९ हेक्टरमा प्रतिहेक्टर ३.९१ प्रतिशतका दरले ३१ हजार ३५४ मेट्रिक टन, रामेछापमा ७ हजार ८८० हेक्टरमा प्रतिहेक्टर २.५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा ७ हजार ९०० हेक्टरमा प्रतिहेक्टर २.९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।

दोलखामा २ हजार ८७२ हेक्टरमा प्रतिहेक्टर २.५० प्रतिशतका दरले ७ हजार ६८ मेट्रिक टन र रसुवामा १ हजार ९९ हेक्टरमा प्रतिहेक्टर २.२३ प्रतिशतका दरले २ हजार ४५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिए ।

बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको ५ हजार ६०० मेट्रिक टन धानबालीमा क्षति पुगेको जनाइएको छ । समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादनमा घटेको हो । रासस

ग्रीन भेन्चर्सको लाभांश घोषणा Read Previous

ग्रीन भेन्चर्सको लाभांश घोषणा

रवि लामिछाने विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, २८ कराेड बिगाे दाबी Read Next

रवि लामिछाने विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, २८ कराेड बिगाे दाबी