काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड आजदेखि एक साता दिउँसो ३ घण्टा बन्द हुने भएको छ ।
नौबिसे-मुग्लिन सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने भएको हो ।
जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार दिउँसो ३ घण्टा सवारी रोकेर दुवै स्थानका मोड फराकिलो बनाउन लागिएको हो । सो समयमा गाडीहरु विभिन्न ठाउँमा रोकिने छ ।
पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने ठूला सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ । त्यस्तै, मलेखुबाट नौबिसेतर्फ आउने ठूला सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।
त्यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखुतर्फ आउने ठूला सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ । मलेखुबाट मुग्लिनतर्फ जाने ठूला सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ ।
तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने ट्राफिक कार्यालयले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।