सेयर कर्जामा एउटा बैंकको ११ अर्बसम्म लगानी, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरू सेयर कर्जा लगानीमा आक्रमक बनेका छन् । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नहुँदा बैंकहरू सेयर कर्जा लगानीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा (साउन–कात्तिकमा) बैंक तथा वित्तीय संस्थाहरूले कुल १७ अर्ब ६७ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो चालु आवमा गरेको कुल कर्जा लगानीको १३.६७ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल कुल १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सोमध्ये साढे १७ अर्ब मार्जिन प्रकृति (सेयर) कर्जा लगानी गरेका हुन् । चालु आवमा वाणिज्य बैंकहरूले मात्रै १५ अर्ब ५६ करोड र अन्य बैंक तथा वित्तीय संस्थाले २ अर्ब १० करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

चालु आवको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकले मात्र ८५ अर्ब ९६ करोड रुपैयाँ मार्जिन कर्जा दिएका छन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लगायत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने अटो, घरजग्गा, सेयर कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।

राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले २०८० कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले साढे ७ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ ।

यी हुन् आक्रमक कर्जा विस्तार गर्ने बैंक

हाल संचालनमा रहेको २० मध्ये १९ बैंकले सेयर कर्जा लगानी गर्छन् । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डले भने सेयर कर्जा नै लगानी गर्दैन् । चालु आवको ४ महिनामा १९ मध्ये १५ बैंकले सेयर कर्जा लगानी बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

चालु आवको ४ महिनामा कुमारी बैंकले सबैभन्दा धेरै ३ अर्ब ९३ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेको छ । गत असारसम्म कुल ४ अर्ब ३७ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेको कुमारीको कात्तिक आइपुग्दा ८९ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, ४ महिनामा ग्लोबल आइएमईले ३ अर्ब ६४ करोड, सिद्धार्थले २ अर्ब १२ करोड, प्राइम कमर्शियलले १ अर्ब ४६ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १८ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

त्यस्तै, नेपाल बैंकले ९१ करोड, सिटिजन्सले ७६ करोड ८० लाख, लक्ष्मी सनराइजले ७५ करोड, एनएमबीले साढे ७० करोड, माछापुच्छ्रेले साढे ४९ करोड, प्रभुले साढे ४० करोड, सानिमाले साढे ३० करोड, एभरेष्टले ३० करोड, नेपाल एसबीआईले २७ करोड र कृषि विकास बैंकले १७ करोड रुपैयाँ सेयर कर्जा विस्तार गरेका छन् ।

४ महिनामा नेपाल एसबीआई र माछापुच्छ्रेले दोब्बरभन्दा धेरैले सेयर कर्जा वृद्धि गरेका छन् । असारको तुलनामा एसबीआइले मार्जिन कर्जा १३५.४१ प्रतिशत र माछापुच्छ्रेले १०६.१८ प्रतिशतले बढाएको छ ।

रकममा आधारमा ग्लोबल आइएमई र नबिल बैंकले ११ अर्ब रुपैयाँ बढी सेयर कर्जा लगानी गरेका छन् । त्यस्तै, कुमारीले ८ अर्ब ३१ करोड, सिद्धार्थ ७ अर्ब ९१ करोड, नेपाल ७ अर्ब ६८ करोड, सिटिजन्स र प्राइमले समान साढे ५ अर्ब रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । नेपाल एसबीआइले सबैभन्दा कम ४७ करोड रुपैयाँ सेयर कर्जा दिएको छ ।

४ बैंकले भने घटाउँदै

चालु आवमा १५ बैंकले सेयर कर्जा लगानी बढाउँदा ८ वाणिज्य बैंकले भने घटाएका छन् । हिमालयन, राष्ट्रिय वाणिज्य, नबिल र एनआइसी एसियाले सेयर कर्जा लगानी घटाएका हुन् । यी बैंकहरू नयाँ सेयर कर्जा लगानीभन्दा असुलीमा केन्द्रित भएका छन् ।

यस अवधिमा एनआइसी एसियाले सबैभन्दा धेरै १ अर्ब १७ करोड रुपैयाँ सेयर कर्जा घटाएको छ । त्यस्तै, नबिल र राष्ट्रिय वाणिज्यले समान २८/२८  करोड र हिमालयनले १४ करोड रुपैयँँ सेयर कर्जा लगानी घटाएको छ ।

महुली लघुवित्तको एफपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

महुली लघुवित्तको एफपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डको फेरि थपियो म्याद, अझै ६५% काम बाँकी Read Next

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डको फेरि थपियो म्याद, अझै ६५% काम बाँकी