काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप तीन कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
बिहीबार सर्वोत्तम सिमेन्ट, बुटवल पावर र कृषि विकास बैंकले लाभांश घोषणा गरेका हुन् । तीनै कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
सर्वोत्तम सिमेन्टले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यसैगरी, बुटवल पावर कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
तीनै कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय र सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।