फेरि २०० रुपैयाँ हाराहारीमै पाइन थाल्यो सेयर, यी हुन् सबैभन्दा सस्ता २० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयर मूल्य सस्तिन थालेको छ । नेप्से परिसूचक घट्दै जाँदा सूचीकृत कम्पनीहरूको पनि सेयर मूल्य घट्न थालेको हो ।

२०७८ भदौमा इतिहासकै सर्वाधिक ३१९८ विन्दुको रेकर्र्ड बनाएको नेप्से त्यसयता घटेर अहिले १८०० बिन्दुसम्म आएको थियो । गत असार १७ गते संसदका दुई ठूला दल नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने सम्झौता गरेसँगै नेप्सले लगातार डेढ महिना बढ्यो । असार १५ गते २ हजार बिन्दु हाराहारीमा रहेको नेप्से साउन ३१ गते ३ हजार बिन्दुसम्म पुग्यो । तर, फेरि त्यसयता ओरालो लागेको नेप्से अहिले २६०० बिन्दु हाराहारीमा छ ।

नेप्से लगातार घटेसँगै सूचीकृत कम्पनीहरूको सेयर मूल्य पनि सस्तिँदै गएको छ । गत साउनमा अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ नजिक पुगेकोमा अहिले फेरि २०० रुपैयाँ हाराहारीमा पाइन थालेको छ । नेप्सेमा विभिन्न १३ समूहका २६७ कम्पनी सूचीकृत छ । तीमध्ये २ दर्जन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० देखि २५० रुपैयाँको बीचमा छ ।

सूचीकृत कम्पनी मध्ये वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य सबैभन्दा सस्तो छ । तुलनात्मक रुपमा उत्पादनमूलक कम्पनी, माइक्रोफाइनान्स, बीमा कम्पनी, फाइनान्स कम्पनीको सेयर मूल्य धेरै रहेको छ ।

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ९ बैंकको सेयर भाउ प्रतिकित्ता २५० रुपैयाँभन्दा कम छ । चुक्ता पूँजी धेरै हुँदा र वर्षेनी प्रतिफल घट्दै जाँदा वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा सेयर मूल्य सस्तिँदै गएको हो ।

त्यस्तै, नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये १२ कम्पनीको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छन् । तुलनात्मक रुपमा सेयरधनीलाई लाभांश नदिने कम्पनीमा पर्छन् हाइड्रोपावर । त्यस्तै, अरु समूहका कम्पनीकोभन्दा हाइड्रोपावरहरूको वित्तीय अवस्था पनि कमजोर छ ।

यी हुन् २५० रुपैयाँ कममा सेयर पाइने कम्पनी

नेप्सेमा सूचीकृत २६७ कम्पनी मध्ये हाल २२ कम्पनीको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छ । जसमा ९ वाणिज्य बैंक, १२ हाइड्रोपावर र एउटा लगानी समूहको कम्पनी रहेका छन् ।

नेप्सेमा सूचीकृत आधा वाणिज्य बैंकको सेयर मूल्य २५० रुपैयाँभन्दा कम छ । एनएमबी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्रभु, कुमारी र सिटजन्स बैंकको सेयर भाउ २५० रुपैयाँभन्दा कम छ । जसमा सबैभन्दा सस्तो कुमारी बैंकको प्रतिकित्ता २१३.७ रुपैयाँ मात्रै छ ।

त्यस्तै, लगानी समूहका हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४१ रुपैयाँ छ ।सबैभन्दा धेरै १ दर्जन हाइड्रोपावर कम्पनीको सेयर मूल्य २५० रुपैयँँभन्दा कम छ ।

सिंगटी हाइड्रोपावर, अरुण काबेली, ग्रीन लाइफ, शिवश्री, हिमालयन ऊर्जा, रिडी पावर, नेशनल, घलेम्दी हाइड्रोपावर, अपर तामाकोशी, लिबर्टी इनर्जी, आँखुखोला र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य २५० रुपैयँँभन्दा कम छ । जसमा हिमाल दोलखाको सबैभन्दा सस्तो प्रतिकित्ता २०१ रुपैयाँ मात्रै छ ।

 

हेटौंडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा Read Previous

हेटौंडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा

सर्वोत्तम सिमेन्ट, बुटवल पावर र कृषि विकास बैंकको लाभांश घोषणा Read Next

सर्वोत्तम सिमेन्ट, बुटवल पावर र कृषि विकास बैंकको लाभांश घोषणा