काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणको लागि उपलब्ध गराउने रकमको किस्ता वितरणको लागि नयाँ व्यवस्था गरेको छ । प्राधिकरणले निश्चित सिमाभित्र आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने किस्ता बापतको रकम लिइसक्न सूचना प्रकाशित गरेको हो ।
प्राधिकरणका अनुसार जेष्ठ मसान्तसम्ममा लाभग्राही सूचीमा समावेश भएकाले असार २१ गतेसम्ममा अनुदान सम्झौता गर्नुपर्ने छ । अनुदान सम्झौता गरिसकेकाले भने, असार मसान्तसम्ममा पहिलो किस्ता लिन सक्नेछन् ।
असार मसान्त सम्म पहिलो किस्ता लिएकाले आगामी कात्तिक मसान्तसमा दोस्रो किस्ता र दोस्रो किस्ता लिएकाले माघ मसान्त भित्र तेस्रो किस्ता लिइसक्नु पर्ने प्राधिकरणले जनाएको छ ।
साथै, प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरू खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीनलाख उपलब्ध गराउने भएको छ । मंगलवार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्ता घरधनीलाई निजी आवास पुनर्निर्माण अनुदान रकम एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको हो । यस्ता घरधनीले असार १५ भित्र आफ्नो घरको विवरण प्राधिकरणमा उपलब्ध गराइसक्नु पर्ने छ ।
यस्तै, जोखिम वर्गमा परेका लाभग्राहीहरुले भाद्र मसान्तभित्र आवधिक विवरण उपलब्ध गराउनु पर्ने छ भने, यही जेष्ठ मसान्तभित्र छुट सर्वेक्षणका लागि गुनासो दर्ता गरि सिफारिस लिइसक्नु पर्ने प्राधीकरणको सूचनामा उल्लेख छ । प्राधिकरणले असार १५ भित्रै छुट सर्वेक्षणको लगत संकलनको कार्य सम्पन्न गर्ने जनाएको छ ।