राजविराजमा रात्रिकालीन उडान सुरू

राजविराज  । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरू गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरू भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अब राजविराज छायामा पर्नेछैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।’

पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए । उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे । उनले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।

त्यसअवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरवको विषय भएको बताए । ‘सप्तरीबासीका लागि गौरवको दिन हो, अब, उडान सङ्ख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ । यो अवस्थामा ल्याइपुर्याउन सहयोग गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने । प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो सुरूआत महत्वपूर्ण कदम भएको अध्यक्ष राउतले उल्लेख गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गरे ।

राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले सोमबार काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरू गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए । राजविराजमा रात्रिकालीन उडानले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको उनको दाबी छ ।

इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आईएफआर) मा दुई हजार मिटरमा उडान गर्न सकिनेभएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ । यसअघि भिएफआर  उडानका लागि कम्तीमा पनि पाँच हजार भिजिबिलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्याबाट राहत मिल्ने विमानस्थलले जनाएको छ ।

राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।

राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए । राजविराज विमानस्थलमा १ हजार ५०० मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ । लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरू गरेको गियो । श्री एयरलाइन्सले उडान सुरू गरेको १ वर्ष राजविराज उडान बन्द गरेको थियो ।

राजविराज विमानस्थल कार्यालयका अनुसार विसं २०५२ र २०६५ मा केही दिन उडान भयो । विसं २०६६ मा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो । विसं २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो । राजविराजमा रात्रिकालीन उडानले मधेसको पर्यटनका निम्ति ढोका खुलेको स्थानीय रोशन मण्डलले बताए ।रासस

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

वार्षिक २ खर्बको मासु निर्यात गर्न नेपाली र चिनियाँ कम्पनी बीच सम्झौता, ६ अर्बमा वधशाला निर्माण Read Next

वार्षिक २ खर्बको मासु निर्यात गर्न नेपाली र चिनियाँ कम्पनी बीच सम्झौता, ६ अर्बमा वधशाला निर्माण