देशको अर्थतन्त्र कुन दिशामा जाँदैछ ? यस्तो देखाउँछ १२ तथ्यांकले

काठमाडौं । अर्थतन्त्रको बाह्य सूचक ३ वर्ष यताकै बलियो अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिना (साउन–कात्तिक)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

विदेशी मुद्रा संचितिले हालसम्मकै धेरैको रेकर्ड बनाएको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह, संचिति पर्याप्तता, शोधान्तरस्थिति, चालुखाता लगायत सूचकमा पनि निकै सुधार देखिएको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्र २ वर्ष यता लगातार बलियो भइरहेको छ । तर, आन्तरिक अर्थतन्त्रमा शिथिलता कायमै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि कर्जाको माग बढ्न सकेको छैन । पूँजीगत खर्च न्यून छ । भ्रमण आयभन्दा व्यय धेरै छ ।

सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ । महँगी भने सरकारको नियन्त्रण भित्रै छ ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

१. विदेशी मुद्रा संचितिको साढे २२ खर्ब : विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म ९.४ प्रतिशतले बढेर २२ खर्ब ५५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । कात्तिक मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १६ अर्ब ७० करोड डलर संचिति छ ।

२. १५ महिनाको आयात धान्ने अवस्था : २ वर्ष अघि विदेशी मुद्रा संचिति घट्दै जाँदा मुलुक श्रीलंका जस्तै बन्छ भन्ने आतंक फैलिएको थियो । सो बेला वैदेशिक मुद्राले ६ महिनाको मात्रै आयत धान्ने अवस्था थियो । तर, अहिले विदेशी मुद्रा संचिति पर्याप्त भएको छ । कात्तिकसम्म राष्ट्रिय ढुकुटीमा १५.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति भएको छ । त्यस्तै, १८ महिनाको बस्तु आयात धान्न पुग्छ । यो पछिल्लो साढे ३ वर्ष यताकै बलियो अवस्था हो ।

३. रेमिट्यान्स ९.१ प्रतिशत बढ्यो : चालु वर्षमा रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार औसतमा मासिक १ खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदै आएको छ । कात्तिक मसान्तसम्म कुल ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

४. शोधनान्तर स्थिति र चालु खाता बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ बचतमा थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँ बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँ बचतमा थियो ।

५. व्यापार घाटामा झिनो सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा पनि झिनो सुधार आएको छ । अघिल्लो वर्षको कात्तिकको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा ०.३ घटेर ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै बढेको छ । कुल वस्तु आयात ०.२ प्रतिशतले वृद्धि आई रू ५ खर्ब १३ अर्ब ३९ रूपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ४.२ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

६. सरकारको खातामा २ खर्ब नगद मौज्दात : चालु आवको कात्तिक मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब १४ अर्ब १४ करोड रुपैयाँ (प्रदेश र स्थानीय सरकारको खातामा रहेकोसहित) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड रुपैयाँ मात्र नगद मौज्दात थियो।

७. निक्षेप र कर्जा लगानी दुवै बढ्यो : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि सुधार आएको छ । यस अवधिमा निक्षेप संकलन २.३ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब रुपैयाँले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी पनि २.५ प्रतिशतले बढेको छ । चालु वर्षको ४ महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि, अघिल्लो वर्षको सोही अवधिमा ९० अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको थियो ।

८. आधारदर ७.२ प्रतिशतमा झर्यो : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.३९ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.७७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.९१ प्रतिशत रहेको छ ।

त्यस्तै, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.०२ प्रतिशत, विकास बैंकहरूको ८.९६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०३ प्रतिशत रहेको छ । गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरूको १२ प्रतिशत र वित्त कम्पनीहरूको १३.३३ प्रतिशत रहेको थियो ।

२०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१ प्रतिशत, विकास बैंकहरूको ५.८३ प्रतिशत र वित्त कम्पनीहरूको ७.१८ प्रतिशत रहेको छ । २०८० कात्तिकमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ७.७६ प्रतिशत, ९.११ प्रतिशत र १०.०२ प्रतिशत थियो ।

त्यसैगरी, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७ प्रतिशत, विकास बैंकहरूको १०.४३ प्रतिशत र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत, विकास बैंकहरूको १३.७० प्रतिशत र वित्त कम्पनीहरूको १४.४८ प्रतिशत रहेको थियो ।

९. मुद्रास्फीति बढ्यो : चालु आवमा महँगी सरकारको नियन्त्रण भित्रै रहेको छ । यद्यपि, गत वर्षको तुलनामा भने महँगी बढेको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६ प्रतिशतमा झरेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । गत वर्ष कात्तिकमा मुद्रास्फीति ५.३८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशतले र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ५.७२ प्रतिशत, पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको छ ।

१०. सरकार ९२ अर्ब घाटामा : चालु आवमा अन्य सूचकमा सुधार देखिए पनि सरकारको आम्दानी र खर्च बीच ठूलो खाडल देखिएको छ । ४ महिनामै सरकार ९१ अर्ब ७८ करोड रुपैयाँ घाटामा छ । अर्थात् यस अवधिमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको सरकारको खर्च ४ खर्ब १५ अर्ब २ करोड करोड रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा सरकारको खर्च १६.७ प्रतिशतले र आम्दानी १६.८ प्रतिशतले बढेको छ ।

११. सेवा क्षेत्र घाटामा : समीक्षा अवधिमा सेवा क्षेत्र २२ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको छ । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.८ प्रतिशतले वृद्धि भई २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यही अवधिमा भ्रमण व्यय १०.३ प्रतिशतले वृद्धि भई ६८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ९२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोेड रुपैयाँ रहेको थियो ।

१२. प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब बढ्यो : चालु आर्थिक वर्षको ४ महिनामा प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब रुपैयाँले बढेको छ । कात्तिक मसान्तसम्म ५ अर्ब ७६ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष यही अवधिमा ३ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।

काठमाडौंको उत्तरी क्षेत्रमा एकैपटक २० विद्युतीय माइक्रोबस सञ्चालनमा आए Read Previous

काठमाडौंको उत्तरी क्षेत्रमा एकैपटक २० विद्युतीय माइक्रोबस सञ्चालनमा आए

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा Read Next

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा