आजकाल बैंकले के गर्न दिइरहेका छन् धेरै ऋण ?

काठमाडौं । विगत २ वर्ष यता बैंकिङ व्यवसाय सुस्त छ । निक्षेप संकलन एकोहोरो बढे पनि सोही अनुपातमा कर्जा लगानी बढ्न सकेको छैन । अर्थतन्त्रमा आएको शिथिलताका कारण माग बढ्न नसक्दा कर्जा लगानी सुस्त भएको हो ।

अर्थतन्त्रमा आएको शिथिलता र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको हो । बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा मुख्यगरी उत्पादनमूलक र व्यापार प्रयोजनका लागि प्रदान हुने कर्जा लगानीमा भारी गिरावट आएको छ ।

सरकार र राष्ट्र बैंकले कर्जाको माग बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाए पनि कर्जाको माग बढ्न सकेको छैन । पैसा जति बैंकिङ प्रणालीमै थुप्रेर बसेको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी अधिक तरलता छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर, पहिलो चौमासिक बित्दा लक्ष्यको एकचौथाई पनि कर्जा लगानी हुन सकेको छैन ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरूले चालु आवमा ६ खर्ब बढी रुपैयाँ कर्जा लगानी गर्नुपर्छ । तर, चालु आवको ४ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यो वृद्धिदर लक्ष्यको साढे २ प्रतिशत मात्रै हो ।

यद्यपि, आर्थिक शिथिलताका बाबजूद पछिल्ला महिनाहरूमा केही क्षेत्रमा भने कर्जाको माग बढेको देखिएको छ । व्यापार, सेयर, घरजग्गा लगायत क्षेत्रमा भने कर्जाको माग बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यी क्षेत्रमा बढ्दो छ कर्जाको माग 

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने १२ प्रकृतिका कर्जामध्ये चालु आवको ४ महिनामा ८ प्रकृतिका कर्जाको वृद्धिदर धनात्मक छ भने ४ क्षेत्रको ऋणात्मक छ । आर्थिक शिथिलताका बाबजूद २ प्रकारको कर्जाको वृद्धिदर लक्ष्यभन्दा धेरै अर्थात् १२.५ प्रतिशत माथि रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट÷आयात कर्जा लगानी वृद्धिदर सबैभन्दा धेरै २२.१ प्रतिशत रहेको छ । यसले चालु आवमा व्यापार क्षेत्रमा कर्जाको माग सबैभन्दा धेरै रहेको देखाएको छ । गत असारसम्म ८२ अर्ब ८३ करोड रहेको ट्रस्ट रिसिप्ट कर्जा कात्ति मसान्त आइपुग्दा १८ अर्बले बढेर १ खर्ब १ अर्ब पुगेको छ ।

त्यस्तै, मार्जिन प्रकृतिको (सेयर कर्जा)को वृद्धिदर पनि उच्च छ । चालु आवको ४ महिनामा सेयर कर्जाको वृद्धिदर १९.६२ प्रतिशत रहेको छ । ४ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले साढे १७ अर्ब सेयर कर्जा लगानी गरेका छन् । गत असारसम्म मार्जिन कर्जा लगानी कुल ९० अर्ब रहेकोमा कात्तिक आइपुग्दा बढेर १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, औद्योगिक क्षेत्रमा पनि कर्जाको माग बढेको देखिएको छ । उद्योगहरूले लिने वर्किङ क्यापिटल लोन ६.३० प्रतिशतले बढेको छ । ४ महिनाको अवधिमा ४५ अर्ब ६७ करोड रुपैयाँ चालु पूँजी कर्जा लगानी भएको छ । गत असारसम्म ७ खर्ब २५ अर्ब चालु पूँजी कर्जा लगानी भएकोमा कात्तिक आइपुग्दा बढेर ७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण सिजन सुरू हुन लागेसँगै उद्योगहरूले कच्चा पद्धार्थ आयात बढाउँदा यस्तो कर्जाको माग बढेको हो ।

त्यस्तै, ट्रम लोन, व्यक्तिगत आवास कर्जा र हायर पर्चेज कर्जाको वृद्धिदर २ प्रतिशत माथि छ । विगत २ वर्षदेखि सस्ताएको घरजग्गा र अटोमोबाइल सेक्टरमा केही सुधार आउँदा कर्जाको माग बढेको देन्छि । ४ महिनाको अवधिमा १० अर्ब २१ करोड व्यक्तिगत घर कर्जा र २ अर्ब ६१ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

रकमका आधारमा भने चालु ट्रम लोन सबैभन्दा धेरै बढेको छ । ४ वर्षमा यस्तो प्रकृतिको कर्जा लगानी ५१ अर्ब ६४ करोड रुपैयाँले बढेर १९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवमा ४ अर्ब ८ करोड क्यास क्रेडिट कर्जा लगानी भएको छ भने ६८ करोड रुपैयाँ रियल स्टेट कर्जा प्रवाह भएको छ ।

४ प्रकारका कर्जाको माग घट्दो

चालु वर्षमा ४ प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक छ । ८ प्रकारका कर्जा लगानी बढ्दा ओभर ड्राफ्ट कर्जा, डिस्प्राइड सेक्टर (विपन्न वर्ग), बिल पर्चेज र अन्य प्रकृतिको कर्जा लगानी घटेको हो ।

चालु ओभर ड्राफ्ट कर्जा लगानी सबैभन्दा धेरै ६.६१ प्रतिशतले घटेको छ । गत असारसम्म १ खर्ब १२ अर्ब ओभर ड्राफ्ट कर्जा लगानी भएकोमा कात्तिकसम्म आइपुग्दा ८ अर्ब २२ करोडले घटेर १ खर्ब १६ अर्ब रुपैयँँमा आइपुगेको छ ।

चालु आवमा विपन्न वर्गमा प्रवाह हुने कर्जा ४.५४ प्रतिशतले घटेको छ । गत असारसम्म विपन्न वर्गमा ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा कात्तिक आइपुग्दा १४ अर्ब १८ करोड घटेर २ खर्ब ९८ अर्बमा झरेको छ

चालु आवमा बिल खरिद र अन्य कर्जा लगानी पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । ४ महिनामा बिल खरिद कर्जा १६ करोड र अन्य प्रकृतिको कर्जा १० अर्ब ४४ करोडले घटेको राष्ट्र बैंकले जनाएको छ ।

पूँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ Read Previous

पूँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा धक्का Read Next

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा धक्का