एफएनसीसीआइको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्यकाल २ वर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ । महासंघको मंगलबार सम्पन्न साधरण सभाले विधान संशोधन गर्दै अब एक कार्यकाल पछि अध्यक्ष पदको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरेको हो ।

संशोधित विधान अनुसार अब हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने भएको हो । यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने र निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकलका लागि स्वतः अध्यक्ष हुने व्यवस्था थियो ।

यस्तै, महासंघको अध्यक्षको कार्यकाल पनि १ वर्ष घटाइएको छ । हाल महासंघको अध्यक्षको कार्यकाल ३ वर्ष हुने व्यवस्था रहेकोमा अब २ वर्षमा झारिएको छ । अन्जन श्रेष्ठले महासंघको नेतृत्व सम्हालेर कार्यकाल सकिएपछि नयाँ अध्यक्षको कार्यकाल २ वर्षको हुने व्यवस्था गरिएको हो ।

यसैगरी, महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ ।

महासंघले एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई भने निरन्तरता दिइएको छ । तर, वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । प्रत्यक्ष निर्वाचन हुने छैन ।

महासंघको जिल्लारनगर तर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । हाल जिल्लानगरतर्फ एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था छ ।

महासंघको गत २४ गते बसेको कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको थियो । सोहीअनुसार आज विशेष साधरण सभा गरी विधान संशमेधन गरिएको हो।

८ वर्ष अघिसम्म भने महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चुनिने व्यवस्था थियो । २०७३ मा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरिएको थियो ।

कजारिया टायल्सको एकता सम्मेलन सम्पन्न Read Previous

कजारिया टायल्सको एकता सम्मेलन सम्पन्न

डलरको मूल्य हालसम्मकै महँगो, नेपाली मुद्रा झन्झन् कमजोर बन्दै Read Next

डलरको मूल्य हालसम्मकै महँगो, नेपाली मुद्रा झन्झन् कमजोर बन्दै