काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ४ दिनमा मात्रै नेप्से झण्डै १०० अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा आइपुगेको छ । यस दिन ३१७ कम्पनीको १ करोड ५ लाख ४२ हजार ४७० कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ४१ करोड रुपैयाँले घटेर ५ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा १.६७ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३५ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्ट्रीलरीको २८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ ।
आज इमर्जिङ नेपालका सेयरधनीले सर्वाधिक ८.७६ प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा स्वाभिमान लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ८.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२५ प्रतिशतले घटेको छ ।