काठमाडौं । सरकारी लगानीका दुई ठूला संस्थाले धितोपत्र (सेयर)मा लगानी ह्वात्तै बढाएका छन् । कर्मचारी संचय कोष र नागरिक लगानी कोषले पछिल्लो १ वर्षको अवधिमा मात्रै सेयरमा ९ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेका हुन् ।
२०८० असोज मसान्तसम्म दुई कोषले संगठित संस्थाको सेयरमा कुल लगानी ६० अर्ब ३२ करोड रुपैयाँ लगानी गरेकोमा चालु आवको असोज आइपुग्दा बढेर ७० अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।
पछिल्लो १ वर्षमा यी संस्थाले धितोपत्रमा लगानी १६.५ प्रतिशतले बढाएका छन् । नागरिक लगानी कोषले सेयर खरिदमा आफ्नो लगानी सामान्य बढाए पनि संचय कोष भने आक्रमक देखिएको छ ।
संचय कोषले १ वर्षको अवधिमा मात्रै धितोपत्र खरिदमा ९ अर्ब ९ करोड रुपैयाँ लगानी गरेको छ । २०८० असोज मसान्तसम्म संचय कोषले ३० अर्ब ३२ करोड रुपैयाँ लगानी गरेकोमा चालु आवको असोज मसान्त आइपुग्दा बढाएर ३९ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, नागरिक लगानी कोषले १ वर्षको अवधिमा सेयर बजारमा थप ९४ करोड रुपैयाँ लगानी गरेको छ । गत आवको असोजसम्म कोषले संगठित संस्थाको सेयरमा ३० अर्ब ५२ लाख १६ हजार रुपैयाँ लगानी गरेको थियो भने चालु आवको असोज आइपुग्दा ३.१३ प्रतिशतले बढेर ३० अर्ब ९४ करोड ६५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
दुवै कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छन्। यी कोषले जलविद्युत् आयोजनादेखि बैंक तथा वित्तीय संस्थाहरूको सेयरमा लगानी गरेका छन् । नेप्सेमा सूचीकृत भएका र नभएका दुई कम्पनीको सेयरमा लगानी छ ।
यी संस्थाले दोस्रो बजारबाट पनि सेयर खरिद गर्छन् । पछिल्लो समय सेयर बजारले अपेक्षित गति लिन नसके पनि क्रमशः लय समात्ने देखेर सेयरमा लगानी बढाएका हुन् । २०७८ भदौमा ३१९८ बिन्दुको कीर्तिमान बनाएको नेप्से गत वर्ष १८०० बिन्दुसम्म झरेको थियो । गत असार दोस्रोसाताबाट उकालो लागेको नेप्से साउन मसान्तमा ३ हजार बिन्दुमा पुगेको थियो । र, अहिले झण्डै २७०० बिन्दु नजिक छ ।
अधिकांश सूचक बजार प्रतिकूल रहे पनि अपेक्षित गति लिन सकेको छैन । तर, आगामी दिनमा क्रमशः बजारले गति लिने लगानीकर्ताहरू बताउँछन् । यस्तोमा ठूला संस्थाले अहिले सस्तो मूल्यमा सेयर उठाइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर धमाधम सेयर किनरहेको देखाउँछ । चालु आवको ३ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले १५ अर्ब ७३ करोड १६ लाख रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) लिएका छन् । जसमा १ करोड बढीको सेयर कर्जा २५.१ प्रतिशतले बढेको छ ।
गत साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चालु आवको असोज मसान्त आइपुग्दा १७.५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । तर, नेपाल राष्ट्र बैंकको सेयर धितो कर्जामा अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।
अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले गत वर्षको कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ८ प्रतिशत कममै ऋण पाउने अवस्था छ । साथै, पछिल्लो समय सेयर बजारले केही गति लिँदा लगानीकर्ताले आफ्नो लगानी बढाउँदै लगेको देखिन्छ ।