बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो, टम्पको उदयपछि ४०% बढ्यो

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक १ लाख अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) नाघ्दै नयाँ रेकर्ड बनाएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोमैत्री नीति अपनाउने अपेक्षाबीच विश्वकै ठूलो क्रिप्टोकरेन्सीको मूल्य बढेको हो । बिटक्वाइनको मूल्य १ लाख नाघेपछि विश्वभरि क्रिप्टोकरेन्सीका प्रशंसकहरू उत्साहित देखिएका छन्।

ट्रम्पले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)का पूर्वआयुक्त पल एटकिन्सलाई फेरि वालस्ट्रिटको नियामकमा मनोनीत गर्ने बताएको केही घण्टामै बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको हो ।

ट्रम्पले नियुक्त गर्ने भनिएका एटकिन्स एसईसीका वर्तमान प्रमुख ग्यारी जेन्सलरभन्दा बढी क्रिप्टो समर्थक मानिन्छन् । अहिले विश्वको क्रिप्टो उद्योग ३.३ ट्रिलियन अमेरिकी डलर पुगेको अनुमान गरिएको छ ।

गत महिना ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य बढ्न थालेको थियो । उक्त निर्वाचनको दिनयता १ लाख अमेरिकी डलर पुग्न बिटक्वाइनको मूल्य ४० प्रतिशतले बढेको छ ।

ट्रम्पले अमेरिकालाई पृथ्वीको क्रिप्टो राजधानी बनाउने टिप्पणी समेत गरेका छन् ।

सन् २०२१ मा ट्रम्पले बिटक्वाइनलाई ‘छल’ भनेका थिए। तर, पछि उनले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेरे। यो वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उनले बिटक्वाइनका समर्थकहरूसमक्ष अमेरिकालाई ‘पृथ्वीको क्रिप्टो राजधानी’ बनाउने उउद्घोष पनि गरे ।

बिटक्वाइनको मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गरेको छ। तर यसको चर्चा मूल्यका कारण मात्र हुने गरेको छैन। सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटक्वाइनबारे निरन्तर समाचार बन्दै आएको छ।

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट हरायो ७ करोडको सामान  Read Previous

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट हरायो ७ करोडको सामान 

झापाबाट ५० हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी Read Next

झापाबाट ५० हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी