बीपी राजमार्गको ३० किमी खण्ड पुनःनिर्माण गरिँदै, दुई लेनको बनाइने

काठमाडौं । सरकारले गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण अघि बढाउने भएको छ ।

हाल अस्थायी ट्रयाक खोली यातायता संचालनमा ल्याइएको उक्त सडकमा वर्षायाममा पनि सवारी चलाउने गरी सरकारले प्राविधिक अध्ययन अघि बढाएको हो ।

बाढी पहिरोले बीपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किलोमिटर क्षेत्रमा पूर्णरूपमा क्षति पुर्याएको छ । रोशी क्षेत्रको अधिकांश ठाउँमा अहिले बगरमा अस्थायी सडक बनाइ सवारी संचालनमा ल्याइएको छ । उक्त सडकमा हिउँदमा सवारी चलाइए पनि वर्षायाममा सम्भव हुँदैन । त्यसैलाई मध्येनजर गर्दै विभागले जति सक्दो चाँडो सडक पुनःनिर्माण गर्ने गरी अध्ययन अघि बढाएको हो ।

सडक विभागले हाल भकुण्डेबेँसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको हो ।

सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’ सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ । परामर्श दाताले मौजुदा प्रतिवेदन समेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत टोलीले सडकको स्थलगत निरीक्षण समेत गरेको छ । अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिए ।

चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने परामर्श दाता कम्पनीका इन्जिनियर अमित प्रसाद तिमल्सेनाले जानकारी दिए ।

‘हामीले मौजुदा प्रतिवेदन तयार पारी सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गराइसकेका छौं,’ उनले भने, ‘स्थलगत निरीक्षणपछि आवश्यक देखिएका थप परिमार्जनलाई समावेश गरी चाँडै फाइनल प्रतिवेदन तयार पार्छौं ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव सुभराज न्यौपानले पुनःनिर्माण गरिने सडक दुई लेनको हुनेगरी अध्ययन भइरहेको जानकारी दिए । उनले विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताए ।

वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागी परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सीडीई सुमन योगेशले बताए ।

सरकारले उक्त सडक पुनःनिर्माणका लागि जापानी सहयोग नियोग जाइकालाई समेत आग्रह गरेको थियो । यद्यपि, जाइकाले हालसम्म निर्णय दिएको छैन ।

बीपी राजमार्ग काठमाडौंलाई पूवी तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । यो सडक हुँदै रामेछाप, ओखलढुंगादेखि पूवी तराईको झापासम्म पुग्ने सवारी साधन संचालन हुन्छन् । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्छन् ।

 

तामाकोसी जलविद्युत् पुस दोस्रो साताभित्र संचालनमा ल्याइने Read Previous

तामाकोसी जलविद्युत् पुस दोस्रो साताभित्र संचालनमा ल्याइने

छिमेक लघुवित्तको लाभांश घोषणा Read Next

छिमेक लघुवित्तको लाभांश घोषणा