काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । अघिल्ला दुई कारोबार दिनमा ३७ अंकले बढेको नेप्सेमा आज झण्डै २५ अंकको गिरावट आएको हो ।
बुधबार नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा आइपुगेको छ । यस दिन ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६१ करोड रुपैयाँले बढेर ९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटा समूह मध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ८.७२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह ०.५९ प्रतिशतले बढेको छ ।
आज जोशी हाइड्रोपावरको सर्वाधिक ३० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज सपोर्ट लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।