काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २० अंकले बढेको नेप्से आज पनि १७ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ । यस दिन ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेच भएको छ ।
सूचकका वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब रुपैयाँले घटेर ८ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ५.९६ प्रतिशतले बढेको छ भने होटल १.७१ प्रतिशतले घटेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक २६ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको मात्र मूल्य घटेको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर, इंगवा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज अपर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.५१ प्रतिशत गुमाएका छन् ।