बागमतीका ६७ सहकारीका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई पत्राचार

काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।
बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिए ।
उनका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरू उपत्यका भित्रका तीन जिल्लाका छन् ।
‘बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्यौँ,’ रजिष्ट्रार पोखरेलले भने, ‘तीमध्ये धेरै सहकारीका सञ्चालक सम्पर्कमा आउँनै चाहेनन्, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् । त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ ।’
बागमती प्रदेश सरकारले दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अनुसार काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताए ।
सुपर काबेली 'ए' जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारणमा जोडिँदै Read Previous

सुपर काबेली 'ए' जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारणमा जोडिँदै

४०० केभीको बाह्रबिसे सबस्टेसन निर्माण तीव्र, जेठसम्म सक्ने लक्ष्य Read Next

४०० केभीको बाह्रबिसे सबस्टेसन निर्माण तीव्र, जेठसम्म सक्ने लक्ष्य