काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा झण्डै डेढ अर्ब वैदेशिक लगानी भित्रिने भएको छ । फिनल्याण्डको सरकारी फन्डिङ कम्पनी फिनफण्डले १ करोड युरो (१ अर्ब ४२ करोड रुपैयाँ) लगानी गर्ने भएको हो ।
बिहीबार लगानी सम्बन्धी दुईपक्षीय सम्झौतामा भएको छ । सम्झौतापत्रमा फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डका तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त लगानी फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वल्र्डलिङ्कका ग्राहकलाई समग्र इन्टरनेट अनुभवलाई भरपर्दो, तीव्रगतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।
डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वल्र्ड लिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवाप्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने कम्पनीले बताएको छ ।
वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले फिनफण्डको लगानी नेपालमा तीव्र गतिको भरपर्दो इन्टर।नेट सेवा विस्तारमा कोशेढुंगा हुने बताए । ‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ,’ अध्यक्ष अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर हामीले सहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ ।’
फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले डिजिटल पूर्वाधारमा फिनफण्डको लगानीले नेपालमा छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन सहयोग पुग्ने बताए ।
‘वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफण्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ उनले भने, ‘फिनिस लगानीकर्ता भएकोले हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू पिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ ।’
वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । हाल ९ लाख भन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा उपलब्धभ गराइरहेको वर्ल्डलिंकको भनाइ छ । कम्पनीले हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ । ५ हजारभन्दा बढी रोजगारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
वर्ल्डलिंक ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले यसअघि ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआइआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफआइआई)मार्फत विदेशी लगानी भित्र्याइसकेको छ ।