काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिर्ने उद्योगीहरूको घरको बिजुली लाइन काट्ने तयारी गरेको छ ।
विद्युत् नियमन आयोगले उद्योगको लाइन नकाटी वैकल्पिक माध्यमबाट बक्यौता असुल्न निर्देशन दिएसँगै प्राधिकरणले उद्योग संचालकहरूको घरको लाइन काट्ने तयारी गरेको हो ।
प्राधिकरणले उद्योग संचालकहरूको घरको लाइन काट्न नियामक निकाय विद्युत् नियमन आयोगसँग अनुमति मागेको छ । प्राधिकरणले बुधबार आयोगलाई पत्र लेख्दै उद्योगीहरूको घरको लाइन काट्न अनुमति मागेको हो ।
उद्योगले बक्यौता नतिरे संचालकहरूको घरको समेत बिजुली काट्न पाउने कानुनी व्यवस्था छ । ‘नेपाल विद्युत वितरण नियमावली,२०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम बक्यौता असुल उपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था/कम्पनी) का सञ्चालकहरूको आवासमा समेत लाइन काटी असुल उपर गर्नुपर्ने,’ प्राधिकरणले आयोगलाई पत्र लेख्दै कानुनी व्यवस्थाको जानकारी गराएको छ ।
प्राधिकरणले बुधबार नै ३४ उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । त्यस्तै, ती कम्पनीहरूको सेयर कारोबार रोक्का गर्न र कम्पनी रजिष्ट्रर कार्यालय र आइपीओ निष्काशन प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्रचार गरेको थियो ।
प्राधिकरणले पछिल्लो समय बक्यौता तिर्न मंसिर १२ गतेको म्याद दिएको थियो । सो अवधिका उद्योगहरूले बक्यौता नतिरेपछि प्राधिकरणले उद्योगको लाइन् काट्ने तयारी गरेको थियो । तर, नियमन आयोगले मंगलबार उद्योगमा लाइन नकाटी वैकल्पिक माध्यमबाट बक्यौता असुल्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा प्राधिकरण बोर्डले बुधबार तत्काल उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको थियो ।