टेलिकमलाई उछिन्दै विशाल बजार एकैदिनमा यसरी बन्यो सेयर बजारकै ठूलो कम्पनी

काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार कम्पनी पूँजीकरणका आधारमा नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

विशाल बजारको सेयर संरचना परिवर्तन भई एकैपटक ठूलो संख्यामा सेयर थपिएपछि टेलिकमलाई उछिन्दै सबैभन्दा ठूलो कम्पनी बनेको हो ।

नेप्सेका अनुसार बुधबार विशाल बजारको बजार पूँजीकरण १ खर्ब ९८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यो दोस्रो स्थानमा रहेको टेलिकमकोभन्दा २१ अर्ब धेरै हो । टेलिकमको बजार पूँजीकरण १ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ छ ।

चुक्ता पूँजीका आधारमा टेलिकम विशाल बजारभन्दा ४ गुणा ठूलो भए पनि मूल्य उच्च हुँदा पछि पारेको हो । टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ छ भने मूल्य प्रतिकित्ता ९८८ रुपैयाँ मात्रै छ । विशाल बजारको चुक्ता पूँजी ४ अर्ब १ करोड भए पनि मूल्य प्रतिकित्ता ४९५० रुपैयाँ छ ।

मंगलबारसम्म विशाल बजारको कुल बजार पूँजीकरण २ अर्ब २१ करोड रुपैयाँ मात्रै थियो । तर, बुधबार एकैदिनमा ९० गुणाले बढ्दै २ खर्ब नजिक पुगको हो ।

यसरी एकाएक विशाल बजारको पूँजीकरण बढ्नुको कारण हो चुक्ता पूँजी वृद्धि । मंगलबार मात्रै कम्पनीको सरकारको नाममा रहेको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता सेयर सूचीकृत भएको थियो । त्यसअघि जम्मा ५ करोड चुक्ता पूँजी रहेको विशाल बजारको अहिले ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, पछिल्ला दुई कारोबार दिनमै विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ७७४ रुपैयाँले बढेर ४९५० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर संख्या र मूल्य बढेपछि पूँजीकरण ह्वात्तै बढेको हो ।

विशाल बजार कम्पनी स्थापना हुने समयमा सरकारले दिएको ४ जग्गाको हिसाब भएको थिएन । उक्त जग्गा बारे विवाद भई अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालत र पाटन अदालतले उक्त जग्गाको मूल्यांकन गरी सेयरमा परिवर्तन गर्न आदेश दिएका थिए । सोही अनुसार जग्गाको मूल्यांकन गरी सरकारको नाममा ३ अर्ब ९६ करोडको सेयर सूचीकृत भएको हो ।

नयाँ पूँजी संरचना अनुसार विशाल बजारमा सरकारको सेयर हिस्सा झण्डै ९९ प्रतिशत पुगेको छ । १.०४ प्रतिशत हिस्सा मात्रै सर्वसाधरणको सेयर हिस्सा छ ।

चिनी उद्योग संचालनको तयारी, उखुको समर्थन मूल्य भने अझै तोकिएन  Read Previous

चिनी उद्योग संचालनको तयारी, उखुको समर्थन मूल्य भने अझै तोकिएन 

सीजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरू सार्वजनिक Read Next

सीजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरू सार्वजनिक