काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ अन्तर्गत ४०० केभीए क्षमताको २९७ किलाेमिटर प्रसारण लाइन निर्माणका लागि टेन्डर आह्वान भएको छ ।
एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो ।
गत वर्ष एसीए नेपालले ३१५ किलोमिटर लामो ४०० केभीए प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वा गरेको थियो । उक्त टेन्डरमा आवेदक कम्पनीहरूले प्रस्ताव गरेभन्दा धेरै महँगो रेटमा आवेदन दिएपछि ठेक्का प्रक्रिया नै रद्द भएको हो । अहिले पुनः नयाँ टेन्डर आह्वान गरिएको हो ।
यसअघि एमसीए नेपालले प्रसारण लाइन निर्माणको लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेकोमा न्यूनतम ३६ करोड ५९ लाख डलरको बोलपत्र पेस भएको थियो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई ३ खण्डमा विभाजन गरेर ठेक्का आह्रवान गरेकाे थियाे । यसमा चरण (लट–१) को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो ।
न्यु बुटवल–नेपालरभारत सीमा क्षेत्रको प्रसारणलाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया सुरु भइसकेको छ । जसमध्ये १८ किलोमिटर लामो न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको ठेक्का लागिसकेको छ । उक्त प्रसारण लाइन निर्माण गर्न गत भदौमा भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले १२३.६० लाख अमेरिकी डलरमा ठेक्का पाएको थियो । बाँकी २९७ किमी खण्डको लागि अहिले टेन्डर आह्वान गरिएको हो ।
एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।
यस योजना अन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र ४०० केभी क्षमताको ३ वटा सब स्टेशन निर्माण हुनेछ । सडक अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने छ ।
तीन वटै सबस्टेशन निर्माणको ठेक्का लागिसकेको छ । तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का पाएको छ ।
त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । यसको लागत ५ करोड १६ लाख अमेरिकी डलर छ । त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लिङ्कसन इण्डिया प्रालिले पाएको छ ।
एमसीसी ५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको परियोजना हो । यो कार्यान्वयनमा आएको डेढ वर्ष भइसकेको छ ।