बोलकबोल मार्फत धान खरिदबिक्री गर्दै नेपाल वेयरहाउजिङ 

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिदबिक्रीका लागि बोलकबोल प्रक्रिया सुरू गरेको छ ।

कम्पनीले विशेष गरी किसानहरूले आफ्नो अन्नको प्रतिस्पर्धात्मक मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले बोलकबोलको सुविधा उपलब्ध गराएको हो ।

यो वस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो । बोलकबोलको माध्यमबाट कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई फाइदा हुन्छ ।

हाल राईस मिलहरूले सिधै किसान कहाँ गएर वा कृषि सहकारी तथा अन्न सङ्कन गर्ने व्यापारी मार्फत खरिद गरी रहेका छन् । यसरी छरिएर रहेका किसानहरू र खरिदकर्ताहरूले एकातिर सही मूल्य पाइरहेका छैनन् भने अर्कोतिर यो दुवै पक्षहरूको लागी झन्झटिलो छ । कम्पनीले यसलाई व्यवस्थित गरी छरिएर रहेका किसानहरू र खरिदकर्ताहरूलाई एकै स्थानमा ल्याई बोलकबोल प्रक्रिया सुरू गरेको हो ।

कम्पनीले पहिले पनि बोलकबोल प्रक्रिया साङ्केतिक रुपामा सुरू गरेको भएता पनि यो नयाँ पद्धती भएको र किसानहरू छरिएर रहेकाले किसानहरूलाई राम्रो सँग बुझाउन समय लाग्ने भएकोले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन ।

सुरूमा कठिन भएता पनि विश्वभर प्रचलित वैज्ञानिक पद्धति बोलकबोल नै भएकोले समय सँगै यसले राम्रो स्थान लिने भएकोले अब नेपालमा उत्पादन हुने सबै प्रमुख अन्नबालीहरूको बोलकबोलको सुविधा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।

कम्पनीले साइलो प्रविधिमा गहुँ, मकै र भटमासको आधुनिक खाद्यान्न भण्डारण गर्दै आइरहेको छ । साइलो भण्डारण प्रविधि नेपालमा नयाँ भएकोले सुरूमा बुझाउन कठिन भएको थियो । सबैको अन्न खुला रूपमा एउटै साइलोमा भण्डारण हुने भएकोले धरैले भण्डारण गर्न मानेका थिएनन् र भण्डारण गर्नेहरूले समेत कस्तो हुने रहेछ भनेर परिक्षणको लागि थोरै मात्रामा मात्र राखेका थिए ।

७/८ महिना भण्डारण गरेको अन्नको गुणस्तरमा कुनै कमी नआएको देखेर अहिले अग्रिम बुकिङ गर्न समेत भण्डारणकर्ता तयार भएका छन् । त्यसै गरी फिड फ्यक्टरीहरूले समेत साइलोको मकै भने पछि २५-५० पैसा प्रति केजी बढी दिन समेत तयार भैरहेका छन् । त्यसैले कम्पनीले अब आउने सिजनमा भण्डारण क्षमता भन्दा बढी माग आउने विश्वास गरेको छ । यसरी नै बिस्तारै बोलकबोलले पनि बजार लिने कुरामा कम्पनी विश्वस्त रहेकोको छ ।

बोलकबोल मार्फत कसरी धानको कारोबार हुँदैछ ?

सबै भन्दा पहिले किसान, कृषि सहकारी तथा अन्न सङ्कलन गर्ने व्यापारीले नेपाल वेयरहाउजिङ्ग कम्पनीको अक्सन प्याल्याटफममा धान लिएर आउँछन् । अक्सनका लागि आएका धानका गाडी वा ट्याक्टरहरूलाई पहिले आएकोलाई पहिलो प्राथमिकता दिने गरी राखिन्छ र धानको गुणस्तर जाँच गरिन्छ ।

सरकारले तोकेको समर्थन मूल्य, धानको गुणस्तर र बजारमा चलन चल्ती मूल्यलाई आधार बनाई बिक्रीकर्तालाई स्वीकार्य बोलकबोलको लागि आधार मूल्यमा तय गरिन्छ । आधार मूल्य वा सो भन्दा माथिको मूल्यमा किन्न इच्छुक धान खरिदकर्ताहरूले आफ्नो बोली लगाउन सक्छन् । सबै भन्दा बढी धानको मूल्यको बोली लगाउने खरिदकर्ताले उक्त गाडी वा ट्याक्टरको धान खरिद गर्न पाउँदछ ।

भाटभटेनी सुपरमार्केटको छतमा १३ मेगावाट बिजुली उत्पादन गरिने Read Previous

भाटभटेनी सुपरमार्केटको छतमा १३ मेगावाट बिजुली उत्पादन गरिने

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक