काठमाडौं– विश्वमा हिमालै हिमालको देश भनेर चिनिने नेपालमा १ हजार ४ सय बढी हिमालहरु रहेका छन् । यतिधेरै हिमालरहे पनि सरकारले हालसम्म ४१४ वटा हिमाल मात्र आरोहणको लागि अनुमति दिएको छ ।
आरोहण अनुमति भएका ४१४ वटा हिमालमध्ये हालसम्म ७६ वटा हिमालमा कसैले पनि आरोहण गरेका छैनन । गत वर्षसम्म आरोहण नगरिएका (अनक्लाइम्ब पिक) हिमालको संख्या ८१ वटा रहेका थिए । सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यी हिमालहरु आरोहणको लागि खुल्ला गर्ने भएको छ ।
पर्यटन विभागका नायक सुब्बा रामेश्वर निरौलाका अनुसार यो वर्ष हिमाल आरोहण गर्न चाहानेहरुको लागि यी हिमाल आरोहणको लागि खुल्ला गरिने छ ।
हिमाल आरोहणको लागि एजेन्टमार्फत टोली अधिकतम १५ जनसम्मको समूह बनाउनुपर्ने हुन्छ । त्यसपछि पर्यटन बार्डको स्वीकृति लिनुपर्ने हुन्छ । उनका अनुसार पर्यटन बोर्डबाट स्वीकृति नलिइ कुनै पनि हिमाल आरोहण गर्न गएमा न्यूनतम ११ हजार डलरदेखि त्यसको तीन गुणासम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।
कुन हिमाल आरोहण गर्न कति लाग्छ शुल्क
विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको नर्मल रुटबाट आरोहण गर्न विदेशीले ११ हजार डलर तिर्नु पर्छ भने नेपालीले ७५ हजार रुपैयाँ तिर्नु पर्छ भने अन्य रुटबाट आरोहण गर्दा विदेशिले १० हजार अमेरिकी डलर र नेपालीले ६० हजार रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ८ हजार मिटरमाथिका अन्य हिमाल आरोहणको लागि विदेशीले १८ सय डलर तिर्नुपर्छ भने नेपालीले १० हजार रुपैयाँ तिर्नुपर्छ । ७ हजार ५ सय मिटरदेखि ७ हजार ९ सय ९९ मिटर अग्ला हिमाल आरोहणको लागि विदेशीले ६ सय डलर र नेपालीले ८ हजार रुपैयाँ तिर्नु पर्छ
७ हजार देखि ७ हजार ५ सय मिटर अग्ला हिमाल आरोहण गर्न विदेशी पर्यटकले ५ सय डलर र नेपालीले ६ हजार रुपैयाँ तिर्नुपर्छ । ६ हजार ५ सय १ देखि ६ हजार ९ सय ९९ मिटर अग्ला हिमाल आरोहणको लागि विदेशीले ४ सय डलर र नेपालीले ५ हजार रुपैयाँ तिर्नुपर्छ ।
यस्तै ६ हजार ८ सय १२ मिटर अग्लो अमाडब्लम हिमाल आरोहणको लागि विदेशीले ४ सय डलर र नेपालीले ८ हजार रुपैयाँ तिर्नुपर्छ । ६ हजार ५ सय मिटर कम उचाई भएका हिमालहरु आरोहणको विदेशीले २ सय ५० डलर तिर्नुपर्छ भने नेपालीले ५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।