सूचीकृत ५७ हाइड्रोपावरको नाफा बढ्यो, २० वटा भने घाटामा (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको नाफामा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलोे त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा हाइड्रोपावरहरूको नाफा औसतमा २५.६२ प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये हालसम्म ९० वटा (अपर लोहोरे बाहेक)ले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा ९० वटा हाइड्रोपावरले चालु आवको ३ महिनामा कुल ३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा ७४ करोड ३७ लाख रुपैयाँ धेरै हो । गत वर्ष पहिलो त्रैमासमा हाइड्रोपावरले कुल २ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा अधिकांश हाइड्रोपावरको नाफामा सुधार आएको छ । ५७ वटा हाइड्रोपावरको नाफा बढेको छ भने २५ वटाको घटेको छ । गत वर्ष घाटामा रहेको १६ हाइड्रोपावर यस वर्ष नाफामा गएका छन् । त्यस्तै, १ दर्जन हाइड्रोपावरको नोक्सानी घटेको छ ।

विद्युत् बिक्री आम्दानी बढ्दा र ब्याज खर्च घट्दा हाइड्रोपावरको नाफामा सुधार आएको हो । निक्षेपको ब्याजदर घट्दा हाइड्रोपावरहरूको वित्तीय लगात घट्न गई नाफामा सुधार आएको हो । २०८० कात्तिकदेखि बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याज घट्दा बेसरेट सस्तिन जाँदा कर्जाको ब्याजदर समेत घटेको हो । जसको फाइदा हाइड्रोपावरहरूले पाएका छन् ।

समीक्षा अवधिमा २० वटा हाइड्रोपावर घाटामा छन् भने २६ वटाको नाफा घटेको छ । हाल निर्माणकै चरणमा रहेका र बाढीपहिरोको कारण आयोजना भने बन्द भएका हाइड्रोपावरहरु घाटामा गएका हुन् ।

समीक्षा अवधिमा हाइड्रोपावर कम्पनीले विद्युत् बिक्रीबाट १४ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै, यस अवधिमा ४२ वटा कम्पनीको जगेडा कोष धनात्मक छ भने ४८ वटाको ऋणात्मक छ । जसमा अपर तामाकोशीको रिजर्भ सबैभन्दा धेरै ८ अर्ब ३८ करोड रुपैयाँ ऋणात्मक छ ।

धेरै कमाउने तामाकोशी

समीक्षा अवधिमा ९० वटा हाइड्रोपावर मध्ये देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको अपर तामाकोशीले सबैभन्दा धेरै नाफा कमाएको छ । अपरले ३ महिनामा ६३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत वर्षको पहिलो त्रैमासको तुलनामा अपरको नाफा ३७.२६ प्रतिशतले घटेको छ ।

त्यस्तै, निजी क्षेत्रको सबैभन्दा ठूलो साहस ऊर्जा दोस्रो धेरै नाफा कमाएको छ । गत वर्षको तुलनामा १६.०७ प्रतिशत नाफा बढाएको साहसले चालु आवमा ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, माउन्टेन इनर्जी ३० करोड ५३ लाख, ग्रीन भेन्चर्सले २३ करोड ९३ लाख, चिलिमे हाइड्रोपावरले २० करोड ९७ लाख, सानिमा माइ हाइड्रोपावरले २० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, अपि पावर १८ करोड, सुपर मादी हाइड्रोपावर १६ करोड, सानिमा मिडिल तमोर साढे १४ करोड, हिमालयन ऊर्जा विकास साढे साढे १२ करोड, अरुण भ्याली ११ करोड, सिंगटी इनर्जी ११ करोड र माण्डु हाइड्रोपावरले १० करोड नाफा कमाएको छ ।

त्यस्तै, अपर सोलुले १० करोड, हिमालयन पावर ९ करोड, अरुण काबेली र सिक्लेस ८ करोड, युनिभर्सल पावर, बाराही र सुपर माइ हाइड्रोपावरले समान ७/७ करोड नाफा कमाएका छन् ।

समीक्षा अवधिमा १३ हाइड्रोपावरको नाफा १ करोड रुपैयाँभन्दा कम छ भने १४ वटाको २ करोड कम छ । ९ वटाले ३ देखि ४ करोडको बीचमा नाफा कमाएका छन् । १० वटाले ४ देखि ६ करोडको बीचमा नाफा कमाएका छन् ।

२० वटा हाइड्रोपावर घाटामा

समीक्षा अवधिमा २० वटा अर्थात् २२ प्रतिशत हाइड्रोपावर घाटामा रहेका छन् । गत वर्ष नाफामा रहेका ३ वटा हाइड्रो समेत यस वर्ष घाटामा गएका छन् । घाटामा रहेको अधिकांश हाइड्रोपावर निर्माणको चरणमा छन् । केही बाढीले क्षतिग्रस्त भई बन्द हुँदा घाटामा गएका हुन् ।

समीक्षा अवधिमा माउन्टेन हाइड्रोपावर सबैभन्दा धेरै ३८ करोड ६२ लाख रुपैयाँ घाटामा छ । त्यस्तै, मेन्छियाम हाइड्रोपावर ३३ करोड, लिबर्टी इनर्जी साढे ६ करोड, साञ्जेन र बलेफी हाइड्रो साढे ५ करोड, त्रिशूली जलविद्युत् पौने ४ करोड, पाँचथर पावर ३ करोड र पिपुल्प पावर २ करोड घाटामा छन्।

त्यस्तै, अपर स्याङ्गे, मोदी इनर्जी, शिवश्री, मध्य भोटेकोशी, रसुवागढी हाइड्रोपावर १ करोड घाटामा छन् । न्यादी, ग्रीन लाइफ, जोशी, नेशनल, राप्ति र छ्याङ्दी हाइड्रोपावर १ करोडभन्दा कम नोक्सानीमा छन् ।

 

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै Read Previous

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?