काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से अन्त्यमा ५१ अंकले घटेर बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा आइपुगेको छ । ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब २६ करोड रुपैयाँले घटेर १० अर्ब ४६ करोडमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । होटल र हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक ४६ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।
उच्च अंकले घटेको बजारमा पनि आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
ङादी ग्रुप पावरका सेयरधनीले भने सर्वाधिक ९.२५ प्रतिशत गुमाएका छन् ।