भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा ८ हजार ६२.१६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा रु २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११.८७ प्रतिशत, अम्रिसो ११.६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७.९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार भेनियर सिटको निर्यात २४१.९४ र प्लाइउडको निर्यात २९.६३ प्रतिशले बढेको छ ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु ४ अर्ब ७२ करोड ७ लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो ।