काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिन थालेको छ । समग्र सेयर बजारले गति लिन नसके पनि माइक्रोफाइनान्स समूहको परिसूचकले भने २ वर्ष यताकै उच्च भएको छ ।
पछिल्लो १ वर्षमा मात्रै माइक्रोफाइनान्सको परिसूचक करिब २ हजार अंकले बढेको छ । गत मंसिर ३ हजार विन्दुमा रहेको लघुवित्तको परिसूचक अहिले ५२०० बिन्दु नजिक पुगेको छ ।
अहिले लघुवित्तको सेयर हटकेक बन्दै गएका छन् । लघुवित्तमा लगानीकर्ताको आकर्षण उच्च छ । समग्र लघुवित्त समूहमै उछाल आउँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । पछिल्लो ६ महिनामै मात्रै लघुवित्त कम्पनीको सेयर मूल्य साढे ३ गुणासम्मले बढेको छ ।
अहिले लघुवित्तहरूको सेयर मूल्य बढ्नुमा मुख्य ३ कारण देखिन्छन् । सेयर मूल्य निकै सस्तो हुनु, वित्तीय अवस्थमा सुधार आउनु र सेयर संख्या थोरै भएकाले चलखेल हुँदा छोटो समयमै लघुवित्तको सेयर मूल्यमा उछाल आएको हो ।
लघुवित्तको सेयर मूल्य अहिले महँगिएको छ । गत वर्ष मंसिरमा मुस्किलले एकदर्जन लघुवित्तको मात्रै सेयर मूल्य १ हजार रुपैयाँ रहेकोमा अहिले ३ दर्जन बढी लघुवित्तको सेयर मूल्य १ हजार माथि छ । त्यस्तै, १ दर्जन लघुवित्तको सेयर मूल्य २ हजार माथि पुगेको छ । अहिले लघुवित्तको सेयर ८०० रुपैयाँ कममा पाउनै मुस्किल छ ।
नेप्सेमा हाल ५० वटा लघुवित्त सूचीकृत छ । तीमध्ये २ लघुवित्तको सेयर मूल्य ३७०० रुपैयाँ माथि छन् । आत्मनिर्भर लघुवित्त र समाज लघुवित्त सबैभन्दा महँगो सेयर मूल्य भएका लघुवित्त हुन् । जसमा आत्मनिर्भरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८० रुपैयाँ छ भने समाज लघुवित्तको ३७९५ रुपैयाँ छ ।
यी दुवै लघुवित्तको सेयर मूल्य उच्च भए पनि वित्तीय विवरण भने कमजोर छ । ब्यालेन्ससिटका आधारमा नभई सेयर संख्या कम भएकै कारण मूल्य उचालिएको देखिन्छ । चालु आवको पहिलो त्रैमासमा दुवै लघुवित्त घाटामा छन् । गत वर्षको तुलनामा दुवैको आम्दानी खुम्चेको छ भने व्यवसाय घटेको छ ।
सबैभन्दा महँगो सेयर मूल्य रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था घाटामा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ लाख ५३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
जबकि, गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ५२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा घट्दा र प्रोभिजन रकम बढ्दा घाटामा गएको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा बढेसँगै लघुवित्तको प्रोभिजन रकम ७०.२३ प्रतिशतले बढेर ४ करोड ५ लाख रुपैयाँ पुगेको छ । हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ संचित छ ।
कर्जा असुल्न नसक्दा लघुवित्तको खराब कर्जा झण्डै दोब्बरले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ८.५३ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आवमा बढेर १४.४३ प्रतिशत पुगेको छ ।
आत्मनिर्भर नेप्सेमा सूचीकृत ५० लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४ हजार ७८० रुपैयाँ रहेको छ ।
त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था पनि घाटामा गएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४२ लाख १२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो ।
जबकि, गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज र संचालन मुनाफा घट्दा घाटामा गएको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी ९०.१२ प्रतिशतले घटेर २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड २ लाख रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा लघुवित्तको संचालन मुनाफा ८८ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ । गत वर्ष सोही अवधिमा समाजको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो ।
हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ३६ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिसम्म लघुवित्तले २६ करोड ५२ लाख रुपैयाँ सापटी र १३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा समाजको खराब कर्जामा भने सुधार आएको छ । गत वर्ष ४.८२ प्रतिशत रहेका खराब कर्जा चालु आवमा घटेर ४.४८ प्रतिशतमा सीमित भएको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १८.४३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २०३.६४ रुपैयाँ छ ।