काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको करेक्सन आएको छ । मंगलबार ११ अंकले घटेको नेप्से आज १४ अंकले घटेको हो । नेप्से यससाता सुरुका दुई दिनमा भने ८४ अंकले बढेको थियो ।
बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा आइपुगेको छ । आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको छ ।
आज सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ६ करोडले बढेर ७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.२ प्रतिशतले बढेको छ भने व्यापार समूह १.६८ प्रतिशतले घटेको छ ।
आज जानकी फाइनान्सको सर्वाधिक ३३ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सप्तकोशी विकास बैंक, श्रृजनशील लघुवित्त, मकर जितुमाया हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।