काठमाडौं । विश्वमा १ ट्रिलियन (१० खर्ब) अमेरिकी डलर बजार पूँजीकरण हुने कम्पनीको संख्या ९ पुगेको छ ।
सेयर मूल्यमा उछाल आएसँगै अमेरिकी विद्युतीय कार निर्माता टेस्ला ट्रिलियन क्लबमा प्रवेश गरेको छ । यससँगै ट्रिलियन बजार पूँजीकरण हुने कम्पनीको संख्या ९ पुगेको हो ।
विश्वका विभिन्न सेयर बजारमा सूचीकृत ती कम्पनीहरूको सेयर मूल्य बढेसँगै पूँजीकरण ट्रिलियन पुगेको हो । कम्पनीको सेयर संख्या र मूल्यको गुणानफल नै बजार पूँजीकरण हो । यसकैका आधारमा विश्वका ठूला कम्पनी गणना गरिन्छ ।
ट्रिलियन क्लबमा अमेरिकी कम्पनीहरूको वर्चश्व रहेको छ । ९ वटा ट्रिलियन पूँजीरकण हुने कम्पनीमध्ये ७ वटा अमेरिकी रहेका छन् । अरु दुई मध्ये एउटा साउदी अरब र अर्को ताइवानी रहेका छन् । ट्रिलियन क्लबमा रहेका अधिकांश कम्पनीहरू सूचना प्रविधि क्षेत्रका रहेका छन् भने केही उत्पादनमूलक क्षेत्रका रहेका छन् ।
ट्रिलियन क्लबमा रहेका कम्पनीमध्ये एनभिडिया विश्वकै ठूलो कम्पनी हो भने टेस्ला सबैभन्दा कान्छो कम्पनी हो । सेयर मूल्यमा उछाल आएसँगै टेस्ला आइतबार मात्रै ट्रिलियन क्लबमा प्रवेश गरेको हो । त्यस्तै, एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, साउदी अरामको, मेटा प्लाटफर्म (फेसबुक), ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ (टीएसएमसी) ट्रिलियन क्लबमा छन् ।
अमेरिकी नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सूचना प्रविधि कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । जसले अमेरिकी कम्पनीहरूको बजार पूँजीकरण ह्वात्तै बढाएको छ ।
यी हुन् १ ट्रिलियन पूँजीकरण भएका कम्पनीहरू
१. एनभिडिया : एनभिडिया बजार पूँजीकरणका आधारमा विश्वकै मूल्यवान कम्पनी हो । यसको बजार पूँजीकरण ३.६२ ट्रिलियन पुगेको छ । ट्रम्प निर्वाचित भएसँगै सेयर मूल्य बढ्दा एप्पलाई उछिन्दै एनभिडिया विश्वकै ठूलो कम्पनी बनेको हो ।
एनभिडिया एक टेक्नोलोजी कम्पनी हो । यसले सेमीकन्डक्टर चिप तथा सफ्टवेयर निर्माण गर्दछ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास बढ्दै जाँदा एनभिडियाको फ्ल्यागसिप एच १०० चिपको माग बजारमा उच्च छ । जसकारण कम्पनीको सेयर मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । एआई चिपको बजारमा एनभिडियाको हिस्सा ७० देखि ९५ प्रतिशतको बीचमा रहेको छ ।
२. एप्पल : बजार पूँजीकरणका आधारमा एप्पल विश्वकै दोस्रो ठूलो कम्पनी हो । एप्पल गत सातासम्म पहिलो स्थानमा कायम थियो । एप्पलको बजार पूँजीकरण ३.४३ ट्रिलियन छ । यो पहिलो स्थानमा रहेको एनभिडियाकोभन्दा १९ बिलियन डलर कम हो ।
एप्पलले पनि सूचना प्रविधि कम्पनी हो । यसले विभिन्न विद्युतीय सामग्रीहरू बनाउँछ । यसका उत्पादनहरू मध्ये म्याक, ल्यापटप, आइप्याड र आइफोन विश्व्मा निकै चर्चित छ । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउँदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस, आइ ट्युन्स, आइवोर्कस,एपर्चर आदी हुन् ।
३. माइक्रोसफ्ट : यो कम्पनी विश्वको तेस्रो ठूलो कम्पनी हो । यसको बजारमा पूँजीकरण ३.१४ ट्रिलियन डलर छ । विश्वमा ३ ट्रिलियन पूँजीकरण हुने कम्पनीको संख्या ३ वटा छ । जसमा माइक्रोसफ्ट पनि अटाउन सफल भएको छ ।
माइक्रोसफ्ट अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो । जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर, र सम्बन्धित सेवाहरू उत्पादन गर्दछ। यसमा चर्चित उत्पादनहरू विन्डोज शृङ्खला, माइक्रोसफ्ट अफिस सुइट, इन्टरनेट एक्सप्लोरर र एज वेब ब्राउजरहरू हुन् ।
४.अल्फाबेट (गुगल) : अमेरिकी सूचना प्रविधि कम्पनी गुगल विश्वकै चौथो ठूलो कम्पनी हो । यसको बजार पूँजीकरण २.१९ ट्रिलियन छ । सर्च इन्जिनको रुपमा रहेको गुगलले इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादन उपलब्ध गराउँछ । यसले इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा लगानी गर्छ ।
५. अमेजन : अमेजन विश्वको पाँचौं ठूलो कम्पनी हो । यसको बजार पूँजीकरण २.१८ ट्रिलियन छ । अमेजन पनि एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो। यसले विशेष गरी विद्युतीय व्यापार (ई–कमर्स) क्लाउड कम्प्युटिङ लगायत काम गर्छ ।
६. साउदी अरामको : तेल उत्पादन गर्ने साउदी अरामको विश्वको छैटौं ठूलो कम्पनी हो । यसको बजार पूँजीकरण १.८ ट्रिलियन छ । अमेरिकी बाहेक ट्रिलियन पूँजीकरण हुने विश्वको पहिलो कम्पनी समेत हो । यो विश्वकै ठूलो तेल उत्पादक कम्पनी हो । यसले पेट्रोल, डिजेल र प्राकृतिक ग्यास उत्पादन गर्छ ।
७. मेटा : मेटाको बजार पूँजीकरण १.४८ ट्रिलियन छ । यो पनि सूचना प्रविधि कम्पनी हो । यो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगायत सामाजिक संजालहरूको माउ कम्पनी हो ।
८. ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ (टीएसएमसी) : टीएसएमसी विश्वको आठौं ठूलो कम्पनी हो । यसको बजार पूँजीकरण १.०४ ट्रिलियन डलर छ । यो एक सेमिकन्डक्टर उत्पादक हो । यसले सामसङ र इन्टेलपछि विश्वकै धेरै सेमिकन्डक्टर उत्पादन गर्छ ।
९. टेस्ला : विद्युतीय कार निर्माता कम्पनी टेस्ला ट्रिलियन क्लबको कान्छो सदस्य हो । यसको बजार पूँजीकरण आइतबार मात्रै १ ट्रिलियन पुगेको हो । यो विश्वकै धनाढ्य एलन मस्कको कम्पनी हो । आइतबार यसको सेयर मूल्य ८.१९ प्रतिशतले बढेर पूँजीकरण १.०३ ट्रिलियन पुगेको हो । टेस्ला विश्वकै ठूलो मध्येको एक ईभी उत्पादक कम्पनी हो ।