सुनसान गौतमबुद्ध विमानस्थल ‘गुल्जार’ बन्दै, साताको २ दर्जन अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । संचालनमा आएको साढे २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बन्दै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नति थालेपछि भैरहवाबाट धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको हो ।

२०७९ जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एरलाइन्सले केही समय उडान गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै जजिराले पनि उडान बन्द गरेपछि भैरहवामा कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । तर, अहिले त्रिभुवन विमानस्थलमा उडान कटौती गरेपछि विदेशी एयरलाइन्सहरू धमाधम भैरहवाबाट उडान गर्न थालेका हुन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन सरकारले ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धन, हवाई टिकटमा भ्याट छुट लगायत सुविधा दिएको छ । सरकारी छुट सुविधाले समेत आकर्षित हुन नसकेका विदेशी एयरलाइन्स अहिले बाध्यात्मक विकल्पमा भैरहवा जान थालेका हुन् ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आगामी दिनमा यस विमानस्थलमा व्यावसायिक उडानहरू बढ्ने बढ्ने बताउँछन् । पछिल्लो समय यात्रुको चाप समेत बढेकाले अन्तर्राष्ट्रिय उडान थपिँदै जाने उनले बताए ।

विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ ।

साताको २ दर्जन उडान हुँदै, थपिँदै विदेशी एयरलाइन्स

साढे २ वर्षसम्म सुनसान प्रायः रहेका गौतमबुद्ध विमानस्थलमा अब दैनिक औसतमा ३ बढी अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार गौतमबुद्ध विमानस्थलमा अहिले साताको १७ उडान तालिका स्वीकृति भइसकेको छ भने केही दिन भित्रै २४ वटा उडान हुने भएकाे छ । आगामी दिनमा उडान थपिने क्रम बढ्ने प्राधिकरणको भनाइ छ ।

गौतमबुद्ध विमानस्थलमा अहिले ४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससहित विदेशी एयरलाइन्सहरू जजिरा, फ्लाइ दुबई र थाइ एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

गौतमबुद्ध विमानस्थलमा यूएईको ध्वजाबाहक फ्लाइ दुबईले सबैभन्दा धेरै उडान गर्ने भएको छ । यहाँ फ्लाइ दुबईले दैनिक एउटा उडान गर्ने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

त्यसैगरी, यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थाई एयर एसियाले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।

कुवेतको जजिरा एयरलाइन्सले पनि साताको ३ उडान गर्ने भएको छ । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । उडान तालिका अनुसार बिहान साढे ७ बजे कुवेतबाट भैरहवा आउने जजिराको जहाज बिहान साढे ८ बजे कुवेत फर्किनेछ ।

त्यस्तै, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवाबाट साताको ५ अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको हो । नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ ।

गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । कतार एयरवेजले यही महिनाभित्रै दोहा-भैरहवा-काठमाडौं-दोहा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा कार्यतालिका पेश गरेको छ ।

हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति Read Previous

हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?