पाथीभरामा केबलकार शिलान्यासकै दिन विवाद, दुई पक्ष बीच झडप

काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप भएको छ ।

शुक्रबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा केबलकार निर्माणको शिलान्यास गर्ने क्रममा दुई पक्ष बीच झडप भएको हो ।

पाथीभरा दर्शन केबलकार प्रालिले आज तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशनको शिलान्याश गर्ने कार्यक्रम राखेको थियो । केबलकारको शिलान्यका लागि जिल्लामा जनप्रतिनिधहरू समेत पुगेका थिए ।

तर, कार्यक्रम सुरु हुने बित्तिकै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने व्यक्तिहरूको समूहले विथोल्न खोजेपछि दुई पक्ष बीच झडप भएको हो । विपक्षी टोलीले अन्धाधुन्ध ढुंगामुडा गर्दा केही व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रमा समेत लिएको छ ।

पाथीभरमा केबलकार निर्माणको बारे लामो समयदेखि विवाद रहँदै आएको छ । पाथीभरा लिम्वूहरूको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गर्न नहुने भन्दै विरोध गर्दै आएका छन् । साथै, पाथीभराको प्राकृतिक स्वरुप पनि बिग्रने उनीहरूको भनाइ छ ।

 

पाथीभरा मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माण गर्न लागिएको हो ।

पाथीभरा केबलकार नेपाल उद्योग वाणिज्य महासंधका अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहको लगानीमा निर्माण हुन लागेको हो । काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइन अनुसार त्यहाँबाट करिब २ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ ।

मुख्य स्टेसनबाट १० मिनेटमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिने कम्पनीले जनाएको छ । केबलकारका लागि १३ वटा टावर निर्माण हुनेछ । सो केबलकारमा ४५ वटा गोन्डुला रहने कम्पनीले कम्पनीले जनाएको छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । पाथीभरा मन्दिर ३ हजार ७९४ मिटर उचाइमा रहेको छ । केबलकार निर्माण गर्न ४ अर्ब रुपैयाँभन्दा बढी लाग्ने कम्पनीले जनाएको छ ।

हवाई भाडा अचाक्ली बढेपछि छलफलमा जुटे मन्त्रीहरू Read Previous

हवाई भाडा अचाक्ली बढेपछि छलफलमा जुटे मन्त्रीहरू

एप्पलाई उछिन्दै चिप उत्पादक एनभिडिया बन्यो विश्वकै ठूलो कम्पनी Read Next

एप्पलाई उछिन्दै चिप उत्पादक एनभिडिया बन्यो विश्वकै ठूलो कम्पनी