‘डब्लूटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

काठमाडौं । विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट-२०२४’ (डब्लूटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लूटीएममा सहभागिता जनाएको हो ।

यही कात्तिक २० देखि २२ गतेसम्म आयोजना भएको वल्र्ड ट्राभल मार्केटमा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वय गर्न विश्वपर्यटन उद्योगको ध्यानाकर्षण गरेको हो ।

बोर्डले आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । १८४ देशहरूबाट ४३ हजार सहभागी रहेको डब्लूटीएममा ३ हजार ८७५ प्रदर्शकहरू सहभागी थिए । मेलामा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो ।

हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लूटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने उनले उल्लेख गरे । उनले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्ने बताए।

‘लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गरेको छ । यो सहभागिताले मुलुकका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थललाई समेटेको छ,’ जोशीले भने।

नेपाल विश्वका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो बनाउने कार्यमा यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उनले बताए । नेपालबाट डब्लूटीएमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, रिसोर्टका प्रतिनिधिहरूको सहभागिता थियो ।

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर Read Previous

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग Read Next

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग