काठमाडौं । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम प्रतिकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिए । ‘गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो,’ उनले भने, ‘मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।’
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताए । ‘मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ,’ उनले भने ।
क्षतिको आँकलन गरिँदै
मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उनको भनाइ छ ।
रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन
यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो ।
मन्त्रालयको अनुसार ९८.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४.६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै ४ प्रतिशत रोपाइँ बढेको थियो ।
मुलुकभर १३ लाख ९८ हजार ९८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ ।
कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताए । ‘यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो,’ उनले भने, ‘तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।’
यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो । अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिए । ‘अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,’ उनले भने, ‘रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।’
वर्षाको थप असर
गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । यसले काटेर थुपारिको धानको पाँजा (निहिन) लाई असर पार्ने देखिएको कछ ।
आयात बढ्ने सक्ने
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब रु ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा रु ८ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ ।
यस्तो छ धान उत्पादनको अवस्था
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आवभन्दा ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो ।
कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा ०.६१ अर्थात् ८ हजार ८०० हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो ४ आवका औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३. ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।
गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४. ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा थियो भने मधेस प्रदेश ३.४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।
गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।