काठमाडौं । निर्माण सुरु भएको ७ वर्षमा काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको एकतिहाई काम पूरा भएको छ । आयोजनाको व्यवस्थापक नेपाली सेनाका अनुसार हालसम्म आयोजनाको ३६.४२ प्रतिशत काम पूरा भएको हो ।
आयोजनाको पछिल्लो पटक थपिएको म्याद २ वर्ष मात्रै बाँकी छ । तर, अझै ६३.५८ प्रतिशत काम बाँकी रहेको छ । आयोजना अन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ ।
प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताए ।
उनले हाल ११ नं. प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताए । ‘हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन,’ प्रवक्ता केसीले भने,‘हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ ।’
उनले रूख कटान र जग्गा अधिकरणसँग सम्बन्धित समस्या समाधान हुँदै गएको, प्रतिशतको आधारमा भौतिक र वित्तीय प्रगति थोरै देखिए पनि कामको स्थलगत प्रगति भने बढी रहेको उनको भनाइ छ । प्रवक्ता केसीले हालसम्म ३६.४२ प्रतिशत काम पूरा भएको र भुक्तानी समस्या समाधान तथा अन्य व्यवस्थापकीय काम भएमा एक वर्षभित्र सबै कार्यसम्पन्न गर्न सकिने बताए ।
उनका अनुसार प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनको निर्णय बाँकी रहेकाले खरिद प्रक्रियासमेत हुनसकेको छैन ।

यद्यपि काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८.५५ प्रतिशत रहेको जनाइएको छ । आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।
१० किलोमिटरका ६ वटा सुरुङमार्ग
आयोजनाअन्तर्गत ६ वटा सुरुङमार्गको कुल लम्बाइ १०.३०९ किलोमिटर रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुरुङमार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको दायाँ टनेलतर्फ ३ हजार ३५५ मिटर लम्बाइमध्ये २ हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेलतर्फ ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।
यसैगरी, प्याकेज नं २ अन्तर्गत धेद्रे सुरुङमार्गको बायाँ टनेलको १ हजार ६९१ मिटर लम्बाइमध्ये १ हजार ६४२ अर्थात् ९५ प्रतिशत र निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेलको १ हजार ६५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।
प्याकेज नं ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेका लामो जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ रहेको १ हजार ६१२ मिटर लामो सुरुङ असारमा र काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको बताइएको छ ।
प्याकेज नं ४ अन्तर्गत एक हजार मिटर लामो देवीचौर सुरुङ र प्याकेज नं ५ अन्तर्गतको तीन सय ९० मिटर लामो सिसौटार सुरुङ निर्माणका लागि खरिद सम्झौता सम्पन्न भई डिजाइनका क्रममा रहेको नेपाली सेनाले जनाएको छ । यस्तै, प्याकेज नं ६ अन्तर्गतको २ हजार २५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ ।
आयोजनाअन्तर्गत ८९ वटा पुल
आयोजनाका ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता केसीले बताएका छन् । हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँचवटा पुलको निर्माण सम्पन्न भएको उनले जनाए । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको केसीको भनाइ छ ।
हाल निर्माणाधीन द्रुतमार्गको सब-बेस, बायो इन्जिनियरिङ, रोडका साइडामा पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायत कार्य जारीरहेको नेपाली सेनाले जनाएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ ।
विसं २०७४ मा चार वर्षभित्र कार्यसम्पन्न गर्नेगरी तत्कालीन सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर सो समयमा काम पूरा नभइ २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखियो, यो समयमा पनि कार्यसम्पन्न नहुने अवस्था आएपछि २०८३ सालसम्मको म्याद थपिएको जनाइएको छ ।
सुरुआतमा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको जनाइएको छ । चीनका ६ वटा फरक-फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ ।
द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ । नेपाली सेनाका प्रवक्ता केसीले अब तोकिएको समयमा कार्यसम्पन्न गर्न सबै पक्षबाट समन्वय र समस्या समाधानको पहल जरुरी रहेकामा जोड दिए ।