काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार सातौं दिनसम्म नयाँ रेकर्ड बनाएर बिहीबारदेखि घटेको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १४०० रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि कात्तिक ७ गते सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको छ ।